स्थानीय चुनावका उम्मेदवारहरुले चुनाव चिन्ह पाएका छन् । सबैजसो दल र स्वतन्त्र उम्मेदवारहरुले घोषणापत्र सार्वजनिक गरिसकेको छन् । उनीहरु घोषणापत्र र चुनाव चिन्हसहित मत माग्द जनताको घरदैलोमा आउँदैछन् । मत माग्नु पाउनु उनीहरुको अधिकार हो भने प्रश्न गर्नु जनताको कर्तव्य हो । जनविश्वास प्राप्त गर्नेहरुले नै नेतृत्व गर्ने हो । तर,चुनावमा होमिएका सबै उम्मेदवारहरुको आर्थिक हैसियत एकैखालको छैन । ठूला दलहरुको तामझाम र समूह ठूलो छ । आफ्नै प्रचार समूह र संगठित कार्यकर्ताहरु छन् । हैसियतवाला ती दलहरुले मत माग्ने क्रममा विभिन्न हथकण्डा अपनाउन सक्छन् । दल छाडेर स्वतन्त्र उम्मेदवारी दिएकाहरुको विरुद्धमा संगठित रुपले दवाव सिर्जना गर्ने,साम,दाम,दण्ड र भेदको नीति अख्तियार गर्न सक्छन् । यस्तोमा ती दलहरुको क्रियाकलापको शुक्ष्म निगरानी बढाउनु आवश्यक देखिएको छ । निर्वाचन स्वच्छ हुनुपर्छ, आचारसंहितको पूर्ण पालना गरिनुपर्छ र नागरिकले भयरहीत वातावरणमा भोट हाल्ने अवसर सिर्जना गरिनुपर्छ । आचारसंहिता उल्लंघनका सबै प्रवृत्तिहरुमाथि कडा कारवाही गर्ने तत्परता निर्वाचन आयोगसँग हनैपर्छ । ठूला दलहरुलाई केन्द्रमा राखेर काम गरिरहेको आरोपबाट मुक्त हुन पनि आयोगले तत्परता देखाउनैपर्छ ।
आयोग एक्लैले सबै काम गर्न सक्दैन । नागरिक सचेतताले आयोगलाई सवल बनाउँछ, आचार संहिता कार्यान्वयन गर्न वल पुग्छ । यस्तोमा नागरिकहरुले तामझामसहित आउने, मत प्रभावित पार्न खोज्नेहरुसँग प्रश्न सोध्नुपर्छ । लडेर ल्याएको लोकतन्त्रको सुन्दर पक्ष भनेकै प्रश्न गर्न पाउनु हो । नागरिकहरु मुखरित हुँदा गलत क्रियाकलाप गर्नेहरु आफै निस्तेज हुन्छन् । यसैले चुनावमा नागरिक निगरानी महत्वपूर्ण छ र हुन्छ । योग्य प्रतिनिधि छान्न नागरिकले देखाउने तत्परता र आयोगको शुक्ष्म निगरानीले मात्रै निर्वाचन स्वच्छख र धाँधलीरहीत हुन्छ ।
