स्थानीय निर्वाचनको क्रममा राजनीतिक दलहरुले जारी गरेको घोषणापत्रमा पोखराको फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् । घोषणापत्रमा जे भनिए पनि पोखरासहित देशका सबै नगरहरुमा फोहर व्यवस्थापन चुनौतीको रुपमा देखा परेको छ । जथाभावी हुने फोहर विसर्जनले जल र जमिन प्रदुषित भएको छ भने नागरिकहरुको स्वास्थ्यमा नकारात्मक असर पारेको छ । पोखराकै कुरा गर्ने हो भने बाच्छेबुडुवामा निर्मित ल्याण्डफिल साइटको आयू सकिएको धेरै भइसक्यो । ल्याण्डफिल साइट अन्यत्र नसारे अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित हुने निश्चित छ । तर, पोखरा महानगरपालिकाले नयाँ ल्याण्डफिल साइटको लागि जग्गा खोज्नै सकेको छैन । २०६१ सालमा निर्माण गरिएको ल्याण्डफिल साइटमा दैनिक २ सय टनको हाराहारीमा फोहर विसर्जन गरिन्छ । विमानस्थलको १० किलोमिटर उडान क्षेत्रमा पर्ने ल्याण्डफिल साइट बन्द नगराए हवाइ उडान असुरक्षित बन्छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणसँगै ल्याण्डफिल साइटको वैकल्पिक व्यवस्था गर्न महानगरसँग अनुरोध गर्दै आइरहेको थियो । तर, विमानस्थल तयार हुँदा पनि वैकल्पिक ल्याण्डफिल साइटको टुंगो लागेको छैन । पोखरा १६ र २० मा पर्ने पस्मराङमा रहेको पौने २ सय रोपनी जग्गामा सार्ने महानगरको योजना स्थानीयको विरोधले अलपत्र छ ।
आफू नजिक फोहर विसर्जनको सबै ठाउँका स्थानीयवासीको टाउको दुखाइ बन्छ । देशका अन्य भागमाजस्तै पोखरामा पनि त्यो समस्या देखिएको थियो÷देखिएको छ । तर, स्थानीयको माग संवोधन गर्दै महानगरले बाच्छेबुडुवामा निर्वाध फोहर पाल्दै आएको छ । तर, अब ल्याण्डफिल साइट सार्नुपर्ने बाध्यतामा महानगर रहेको छ । अहिलेका जनप्रतिनिधिहरुको कार्यकाल सकिएको छ । अब आउने जनप्रतिनिधिहरुको पहिलो काम नै ल्याण्डफिल साइटको व्यवस्थापन गर्नुपर्ने भएको छ । तर, दृढ इच्छाशक्ति र स्थानीयको माग संवोधन नगरिए ल्याण्डफिल साइट बन्दैन । आफ्नो वरपर फोहर विसर्जनलाई नागरिकहरुले रुचाउँदैनन् । उनीहरुलाई विश्वासमा लिनको लागि महानगरले विशेष प्याकेजको व्यवस्था गर्नुपर्छ । गण्डकीकै वालिङ नगरपालिकाले फोहर व्यवस्थापनमा नमूना प्रस्तुत गरेको छ । वालिङले फोहर व्यवस्थापनमा नागरिकहरुलाई परिचालितमात्रै गरेको छैन, फोहरको बर्गीकरण गर्दै त्यसालइर्० आय आर्जनको माध्यम बनाएको छ । नगरपालिकाले वेस्ट म्यापिङ गरेको छ । वेस्ट एप्स तथा फोहर बोक्ने गाडीहरुलाई जीपीएसमा जोडेको छ । त्यही एप्समार्फत् नागरिकले कुहिने, नकुहिने तथा दिसाजन्य फोहोरहरु बोक्ने गाडीको अवस्था पत्ता लगाउँछन् । दैनिक तालिका बुझ्छन् र फोहर फाल्ने समय मिलाउँछन् ।
यस्तै, वालिङले दिसाजन्य फोहरबाट बायो ग्यास र कम्पोष्ट मल उत्पादन गरेको छ । एन्फो संस्थाको प्राविधिक डिजाइन सहयोग, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा वडा नंबर १ मजुवामा प्लाण्ट बनेको हो ।
प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने व्यवस्था छ । वालिङले जे गरेको छ,त्यसबाट अन्य सहरहरुले सिक्नुपर्छ ।
