बागलुङ/ बितेको छ महिना यता बागलुङमा क्रियाशिल तीन ठुला दलहरुमा नेतृत्व परिवर्तन भयो । मंसिरमा भएको नेकपा एमालेको जिल्ला अधिवेशन होस् वा नेपाली कांग्रेसको महाधिवेशन दुवै दलको जिल्लाको नेतृत्व युवा पुस्तामा आएको छ ।
एमालेमा हिराबहादुर केसी अध्यक्ष बने भने कांग्रेसको सभापति जीत शेरचनले जिते । माओवादी केन्द्रको प्रदेश अधिवेशनले जिल्लाको नेतृत्व गरिरहेका ज्ञामनाथ गैरेलाई प्रदेशको उपाध्यक्ष चयन गर्दा जिल्ला संयोजकको जिम्मेवारीमा युवा नेता राजिब घिमिरे आए ।
पार्टीको जिल्ला तहमा नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुँदा आसन्न स्थानीय तहको निर्वाचनमा त्यसको प्रत्यक्ष असर देखिने भएको छ । आसन्न निर्वाचनका लागि तीन ठुला दलले उमेद्वार बनाएर यसअघिका भन्दा धेरै युवाहरुलाई चुनावी मैदानमा पठाएका छन् ।
नेकपा एमालेले गलकोट नगरपालिका, बडिगाड, बरेङ र निसीखोला गाउँपालिकामा प्रमुख पदमा युवालाई अघि सारेको छ । गलकोट नगरपालिकामा पूर्ण काउचा, वडिगाडमा राजन पाईजा, बरेङमा प्रदिप थापा र निसीखोलामा भूमिराज घर्ती मगरलाई उमेद्वार बनाईएको छ । उनीहरु सबै ३० देखि ४० वर्ष उमेर समुहका हुन् । ‘पार्टीमा योगदान गरेका नेताको सम्मान र युवा पुस्ताको सहभागितालाई समान हिसाबले अघि बढाईएको छ’ एमाले अध्यक्ष हिरा बहादुर केसी भन्छन् ‘एमाले चलायमान पार्टी हो, समयअनुसार चल्छ, सबै तहको अनुभव र जाँगर विकासमा लगाउने ल्यागत राख्छ ।’
नेपाली कांग्रेसले बागलुङ नगरपालिका, काठेखोला, बडिगाड र तमानखोला गाउँपालिकामा युवालाई नेतृत्वमा आउने गरी उमेद्वार बनाएको छ । बागलुङ नगरमा बसन्त कुमार श्रेष्ठ, काठेखोलामा राजु थापा, बडिगाडमा गण्डकी थापा अधिकारी र तमानखोलामा जोकलाल बुढा प्रमुख पदमा उमेद्वार हुन् । युवा उमेर समुहका उनीहरु सबै प्रतिस्पर्धी दलका केही पाका र केही युवा उमेद्वारहरुसँगै प्रतिस्पर्धा गर्दैछन् ।
नेकपा माओवादी केन्द्रले भने प्रमुख पदमा केही पाका उमेद्वार र उपप्रमुख पदमा युवाहरुलाई अघि सारेको छ । सत्तामा रहेका दलहरुका बीचमा गठबन्धन र भागवण्डा हुँदा आफ्नो दलले पाएको पालिका प्रमुख र उपप्रमुखमा दलहरुले युवालाई बढी प्राथमिकता दिएको पाईन्छ । उपप्रमुख पदका लागि एमाले, माओवादी, कांग्रेस र राष्ट्रिय जनमोर्चाले समेत युवा उमेर समुहका नेताहरु बढी चुनावी मैदानमा उतारेका छन् । ‘सिकाई, भोगाई र जाँगर सबैको प्रयोग नभई विकास हुँदैन्’ माओवादी केन्द्रकी केन्द्रिय सदस्य बलावती शर्माले भनिन् ‘स्थानीय तहमा युवाको नेतृत्वले नयाँ उर्जा ल्याउँछ ।’
दलहरुले वडाको नेतृत्वमा समेत युवाहरुलाई नै प्राथमिकतामा राखेका छन् । राजनीतिप्रति नयाँ पुस्तामा देखिएको वितृस्णा कम गर्न पनि दलहरुले सोच्नुपर्ने बेला आएको नेताहरु बताउँछन् । बागलुङमा १० स्थानीय तहका ८५ वडामा ४४५ जना जनप्रतिनिधि निर्वाचित हुँदा अधिकांश युवा अनुहार देखिने काठेखोला गाउँपालिका–७ रेशमा एमालेको तर्फबाट उमेद्वार बनेका प्रेम लामिछाने बताउँछन् ।
‘दलहरुले युवालाई दिएको यो चुनौतीपूर्ण कामलाई हामिले अवसरमा बदल्नु छ’ लामिछाने भन्छन् ‘यसअघिको निर्वाचनमा युवाहरुले नेतृत्व पाएका पालिका र वडाहरुका काम हेरेर, मुल्यांकन गरेर पनि दलहरु युवाप्रति आर्कषित भएका हुन् ।





