बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सर्वसाधारणको प्राथमिकतामा सडक

सर्वसाधारणको प्राथमिकतामा सडक


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७९, मंगलबार

बागलुङ/ बागलुङ नगरपालिका–१४ नारायणस्थानको सबै टोलमा सडक पुगेको छ । भुगोल मिलेको वडा भएकाले यहाँका अधिकांश सडक कालोपत्रे र ढलान सडक बन्ने चरणमा छन् । जिल्लाकै एकमात्र कालोपत्रे विमानस्थलसमेत यहीं वडामा पर्छ । बागलुङ–कुश्मीशेरा २१ किलोमिटर सडकमध्ये अधिकांश सडकखण्ड नारायणस्थानको शिर भएर चल्छ । जुन सडक कालोपत्रे भएको सडक हो ।
छिमेकी जिल्ला कुश्मासँग यान्त्रिक पुल, बञ्जी र कालिगण्डकीमाथी बनेको अग्लो पुलले जोडिएको वडामा अहिले सडक सुधारको माग भने घटेको छैन् । सुविधा सम्पन्न सडकको पहुँच भएका ८५ वडामध्ये बागलुङ नगरपालिका–१४ पाँचौं नम्बरमा पर्ने वडा हो ।

‘हिजो भोट दिईयो के–के काम भए हामीलाई थाहा छैन्, अहिले हाम्रो घरअघिको बाटो जस्ले बनाउँछ उसैले भोट पाउँछ’ नारायणस्थानको नमुना गाउँका स्थानीय लाल बहादुर हरिजनले भने ‘सडक गतिलो नभए अरु विकासको के आस ?’ नमुना गाउँबाट एक किमीको दुरीमा बागलुङ कुश्मीशेरा सडक र पर्वतको कालीगण्डकी माथीका पुलहरु पर्छन् । नारायणस्थानका सर्वसाधारणले हरिजनले जस्तै घर घरमा पुग्ने सडकहरु पक्कि भएको हेर्न चाहन्छन् ।

स्थानीय तह निर्वाचनका लागि मत माग्न गाउँमा पुग्ने स्थानीयले नजिकै रहेका स–साना हिलाम्मे सडक देखाउने गरेका छन् । खानेपानीको चरम समस्या रहेको नारायणस्थानमा अहिले कालीगण्डकी किनारको पानी लिफ्टीङ गरेर पु¥याएपछि समस्या टरेको छ । शिक्षामा जिल्लाकै नमुना विद्यालय गणेश मावि र छिमेकी जिल्ला अस्पताल नजिकै पर्ने भएकाले सर्वसाधारणले सडकलाई प्राथमिकतामा राख्ने गरेको नेता आनन्द आचार्यले बताए ।
‘विकास भनेकै सडक हो भन्ने मान्यता अझैपनि कायम छ, तर यहाँका जनताको अरु आवश्यकता पनि छन्’ आचार्यले भने ‘धेरै अकांक्षा एकैपटक थुप्रिँदा समाधान हुन समय लागेको हो ।’ नारायणस्थान मात्रै होईन बागलुङ नगरकै अधिकांश वडामा पुग्दा सडकसँग जोडिएका समस्या मागहरु धेरै आउने गरेको बागलुङ नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा नगर प्रमुखका उमेद्वार जनकराज पौडेल बताउँछन् ।

जिल्लाको ताराखोला गाउँपालिकामा पनि सडक नै सर्वसाधारणको मागमा पर्ने गरेको छ । गाउँपालिकाले गर्ने हरेक सार्वजनिक कार्यक्रममा सडक नभएको, स्तरोन्नती नभएको र कालोपत्रे नभएका गुनासा बढी आउने गरेको अनुभव गाउँपालिकाका कार्यबहाक अध्यक्ष डिलकुमारी पुनसँग छ । ‘आधारभुत सडक नपुगेका टोलहरुमा सडकको माग स्वभाविक हो, तर आधारभुत सडक पुगेका ठाउँहरुमा विकासका अन्य पूर्वाधारभन्दा सडक प्राथमिकतामा पर्नुले अन्य पूर्वाधार विकास गर्न कठिन हुन्छ’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा भन्छन् ‘हार्डवयर काममा जनताको चासो बढी छ, सफ्टवेयर कामहरुलाई काम हुननै भन्दैनन् ।’ विकासका पूर्वाधार तयार गर्दा आर्थिक, सामाजिक र पूर्वाधार बिकासलाई समान हिसाबले अघि लैजानुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->