बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नारामा सीमित बागलुङ स्मार्ट सिटी

नारामा सीमित बागलुङ स्मार्ट सिटी


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०७९, बुधबार

बागलुङ/ समृद्ध नगर, सफा नगर र स्मार्ट सिटी बनाउने नारा सबै दलले उठाएका छन् । सत्ता गठबन्धन होस् वा एमाले राप्रपा तालमेलको नारा होस्, सबैले नगरको व्यवस्थापनलाई जोड दिएका छन् । तर उनीहरुले राज्यले लागू गरेको बस्ती विकास मापदण्ड पालनामा भने कुनै भूमिका खेलेका छैनन् ।

बस्ती विकास मापदण्ड पालना नगरी स्थानीय तहको ५ बर्षे कार्यकार सकिंदा नगर क्षेत्रहरु व्यवस्थित बन्न सकेका छैनन् । चुनावी नारामा मात्र ल्याइने आर्कषक कार्यक्रमले निर्वाचनपछि स्थान नपाउने गरेको मतदाता गुनासो गर्छन् । बरु टाठाबाठा, पैसाको चलखेल गर्न सक्नेबाट प्रशासन र जनप्रतिनिधि संचालित हुने उनीहरुको मत छ ।

धार्मिक क्षेत्र वा सामाजिक र राजनीतिक क्षेत्रमा अगुवा गर्नेले नै मापदण्ड मिच्ने काम गरेका छन् । सदरमुकामको बागलुङ नगरपालिका र ढोरपाटन नगरपालिकामा यो क्रम बढी छ । गलकोट र जैमिनी नगरपालिकामा पनि अहिलेसम्म मापदण्ड लागू गर्ने सुरसार छैन । नेपाल सरकारले २०७२ सालमा बस्ती बिकास मापदण्ड जारी गरेको थियो ।

भूकम्प प्रतिरोधी घर निर्माणका लागि मात्र नभई मापदण्ड अनुसारका सडकहरु चौडा पार्ने, सेटव्याक राख्ने काम पनि भएका छैनन् । जथाभावी घर निर्माण गर्दा जोखिम घट्न समेत नघटेको हो । अग्ला घर बनाउनुपरेमा माटो परीक्षण गर्ने र भूकम्प प्रतिरोधी प्रावधान पनि पुरा गर्नुपर्छ । सामान्य घर बनाउँदापनि डेढ मिटरसम्म सेडव्याक राख्ने, कम्तिमा १२ इन्च चौडाको पिलर ठड्याउनुपर्ने र पिलरभन्दा बाहिर पर्खाल निकाल्न नपाउने प्रावधान तोकेको छ ।

तीव्र रुपमा सहरी विकास भैरहेको गलकोटमा पनि जथाभावी घर बनिरहेका छन् । सडकको मापदण्ड पालना भएका छैनन् । मापदण्डबारे जानकारी भएपनि अधिकांसले चासो नराखेको प्राविधिक बताउँछन् । ‘चुनाबको बेला छ, टिप्पणी गर्दा नेतालाई नराम्रो हुन्छ, तर राजनीतिक संरक्षणले मापदण्ड पालनामा कठिनाइ छ’ एक इन्जिनियरले बताए । मापदण्डले मुल सडकभित्र ५० मीटरसम्म घर बनाउनु पर्दा ४ मीटरको सडक हुनुपर्ने तोकिएको छ ।

जैमिनीले मापदण्ड लागू गर्ने भनेपनि ५ वर्षभरी तयारी गर्दैमा समय बितायो । ‘हामीले कार्यविधि बनाएर लागू गर्दैछौं, अग्ला र ठूला घर बनाउन खोज्नेलाई मापदण्डबारे जानकारी दिने गरिन्छ’ इन्जिनियर विवेक सापकोटाले भने, ‘नगरपालिका भएपनि ग्रामीण बस्ती धेरै भएकोले मापदण्ड पूर्ण कार्यान्वयन भने गाह्रो छ ।’ मुकाम रहेको स्थान र कालीगण्डकी करिडोर छेउमा मात्रै मापदण्ड निर्धारण गर्नुपर्ने उनले बताए ।

घरको क्षेत्रफल १ हजार बर्गफिट भन्दा धेरै भएमा माटो परिक्षण, स्ट्रक्चरल एनलाईसिस लगायतको काम गर्नुपर्ने मापदण्डमा उल्लेख छ । ठूलो स्टक्चरको भवन बनाउनु परेमा भवन डिभिजन कार्यालयमा नक्सा पठाउने गरेको छ । बागलुङ नगरपालिकाले भने मापदण्ड मिचेका घरलाई एकलाख देखि ५ लाख रुपैयाँ सम्म जरिवाना लिएर पास गराएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->