बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चुनावी नारा सम्भव कि असम्भव ?

चुनावी नारा सम्भव कि असम्भव ?

नगरभित्र केबुलकार र रोपवे बनाउने सम्मका महत्वकांक्षी योजनासहित घोषणापत्र बनाएर वितरण गर्दा मतदाता दंग परेका छन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७९, शनिबार

बागलुङ/ राजनीतिक नेतृत्वले उज्वल भविष्यको सपना देख्नुपर्छ । महत्वकांक्षी सपनाले विकास र समृद्धिको सफलतामा लैजान्छ । तर, स्थानीय निर्वाचनमा लाग्ने नारा महत्वकांंक्षीसँगै ५ वर्षमा पूरा नगर्दा जनताको नजरबाट गिर्नुपर्छ कि ?
यस्तै महत्वकांक्षी योजनासहितका नारा अहिले बागलुङ नगरका उम्मेदवारको छ । उनीहरुले आफ्नै कार्यकालमा सम्भव नहुने योजना बनाएर सार्वजनिकसमेत गरेका हुन् । नगरभित्र केबुलकार र रोपवे बनाउने सम्मका महत्वकांक्षी योजनासहित घोषणापत्र बनाएर बितरण गर्दा मतदाता दंग परेका छन् । कतिपयले विकास आउने भयो भन्छन् भने कतिपय मतदाताले झुठा नारा मात्र भएको प्रतिक्रिया दिएका छन् ।

भकुण्डे र भैरवस्थानको विकास योजना सुनाएर उनीहरुले बलेवासम्मको भोट तान्ने रणनीति बनाएको देखिएको हो । अग्लो पहाडी क्षेत्रमा भएकोले केबुलकारबाट जोड्दा पर्यटक बढी लैजान सकिने गठबन्धनको बागलुङ नगरप्रमुख उमेदवार बसन्तकुमार श्रेष्ठले बताए । ‘हामीले नीजि क्षेत्रमार्फत बनाउने भनेका हौं, त्यसैले यो सम्भव छ,’ श्रेष्ठले भने, ‘नगरको बजेट लगाउने कुरा होइन् ।’ आफ्नो नेतृत्व आएमा नीजि क्षेत्रको अगुवाइ र लगानीमा काम गर्ने उनले बताए ।

भैरवस्थान मन्दिरमा जाने सडक स्तरीय बनाउने र पर्यटकीय गन्तव्यसमेत बनाउने एमालेका नगरप्रमुख उमेदवार जनक पौडेलको भनाई छ । पौडेलको घोषणामा भकुण्डेकै लागि रोपवे बनाउने उल्लेख छ । उनले नगरप्रमुख भएको बेलामा पनि यो क्षेत्र जाने सडकमा रकम बिनियोजन गरेको बताए । ‘अझै धेरै लगानी गरेर यो सडक स्तरीय बनाइनेछ’ पौडेलले भने, ‘भैरवस्थानको सडक स्तरीय बन्दा यहाँका ३ वडाबासीले पनि प्रत्यक्ष लाभ लिन्छन् ।’ यहाँबाट वडा नं. १० र ११ तथा जैमिनी नगरपालिकाको वडा नंं. १ मा पनि सहज पहुँच बढ्ने उनले बताए ।

५ वर्षसम्म नगरपालिकाको आफ्नै भवन अलपत्र छ । नगरपालिकाले कृषि ज्ञान केन्द्रको भवनमा बसेको छ । घोषणापत्रमा भने दुवै प्रमुखले आधुनिक प्रशासकीय भवन बनाउने नारा लेखेका छन् । ‘भएको उपयोग गर्न सकेनन्, नयाँ अब कसरी बन्ला’ स्थानीय जीवन काउचाले भने,, ‘धेरै भवनहरु अलपत्र छन्, नगरले उपयोग पनि गर्न सकेन ।’

कालीगण्डकी नदीमा छिमेकी म्याग्दी, पर्वत र बागलुङ जोड्ने मितेरी पुल बनाउने नारा पौडेलको छ । व्यवस्थित बस्ती र सहरी विकासको तथा बलेवा क्षेत्रलाई सहरीकरण र औद्योगिक क्षेत्र बनाउने योजनापनि उनले अगाडि सारेका छन् । तर यसअघिनै निर्माण गर्न जग्गा लिएर औद्योगिक क्षेत्रको काम थालनी भएको छैन । हाल भ्यू टावर रहेको भकुण्डेमा पर्यटन प्रवद्र्धनका लागि पुनः भ्यु टावर निर्माण र बागलुङ बजारदेखि रोपवे बनाउने योजना पनि छ ।

श्रेष्ठको घोषणामा कालीगण्डकी नदीमा ‘वाटर पार्क’ बनाउने योजना छ । साथै नगरको ढल निकास व्यवस्थापन, फोहोर मैलालाई आधुनिक डम्पिङ साइटमा बिर्सजन गर्ने र पानी प्रशोधन केन्द्र स्थापना गर्ने उल्लेख छ । हरेक वडामा फ्रि वाइफाइ जडान गरेर प्रशासनिक काम मात्र नभई आम नागरिकलाई पनि सेवा दिने श्रेष्ठको घोषणा छ । भ्र्रष्टाचारमुक्त नगर, सुशासन, सदाचार, जनसेवक जनप्रतिनिधि, जनमुखी प्रशासन, स्वाबलम्बी महिला, सिर्जनिशल युवा र सबल नगरबासी भन्ने नारासमेत दलका घोषणापत्रमा अटाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->