बागलुङ/ स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गाउँदेखि शहरसम्म सरगर्मी बढिरहेको छ । साना–ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आआफ्ना चुनावी एजेण्डासहित जनताको घरदैलो गरिरहेका छन् । निर्वाचनमा प्रमुख प्रतिस्पर्धा हुने आँकलन गरिएको नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन र नेकपा एमाले चुनाव जित्ने आ–आफ्नै आधार दाबी जनताको बीचमा पेश गरेका छन् ।
निर्वाचनको समयमा घरदैलोमा आउने उमेद्वार तथा दलका नेताहरुलाई मतदाताले खुलेर आफ्नो मत राख्न थालेका छन् । ‘निर्वाचनको बेला दैलोमा आएका नेतालाई अहिले आफ्ना भनाइ अहिले नराखे कहिले राख्ने ?’ बागलुङ नगरपालिका ५ मालिकाका सुन्दर रेग्मीले सुझावसहित भनाइ राख्दै भने, ‘हामीले सुनाएका गुनासा, योजना र समस्याहरु यहाँहरुका नीति तथा कार्यक्रममा समेटिनु आवश्यक छ ।’
देशमा रोजगारीको अभावका कारण विदेशिएका युवा, विदेशमा भोगेको दुख र स्वदेशमा गर्न सकिने कामका विषयमा युवा मतदाताले सुझाउने गरेका छन् । घरदैलोमा रहेका उम्मेदवारहरुलाई पूर्वाधार विकासको विषयमा सुझाउने मतदाताहरु यो पटकको निर्वाचनको समयमा भने आर्थिक विकासको विषयमा समेत सुझाउँछन् ।
‘मैले सवारी चढ्दा हरेक पटक करसहितको भाडा तिरिरहेको छु, मलाई थाहा छैन्, नेपालमा कहिँकतै सवारी भाडाबाट कर संकलन भएको,’ रेग्मीले बागलुङ नगरपालिकामा प्रमुखका उम्मेदवार जनकराज पौडेललाई सुझाव दिँदै भन, ‘त्यही भाडामा मैले कोचाकोच भएर हिँड्नुपर्छ, कर जोडेर तिर्नुपर्छ भने नगरले त्यो सवारीसाधनबाट कर किन नलिने ।’
‘कृषि, जलस्रोत, ऊर्जा, पर्यटन, पूर्वाधार निर्माण र मानव संसाधन विकासबाट हामीले समृद्ध बागलुङको सपना देखेका छौं, सोही अनुसारका सुझाव आइरहेका छन्,’ नेकपा एमालेको तर्फबाट बागलुङ नगरपालिकाका उमेद्वार जनकराज पौडेलले भने, ‘जनताका माग एकदमै ठिक छन्, हिजो सडक, पानी, बिजुलीमात्रै माग्नेहरु अहिले कृषि, पर्यटन, पशुपालन र साना उद्योगका कुरा गर्नुहुन्छ ।’
घरदैलो अभियानमा रहेका बागलुङ नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेद्वार बसन्त कुमार श्रेष्ठले पनि बागलुङ नगरपालिका ८ सिगाना गाउँमा पुगेर आर्थिक विकासकै लागि धेरै सुझाव पाए । ‘हामीले सुन्तला गाउँ भनेर चिनिएको सिगानाको सुन्तला ब्रण्डीङ् गर्छौं,’ सर्वसाधारणको सुझावपछि उनले भने ‘कृषिलाई व्यवसायीक बनाउँदा युवाको परिचालन, रोजगारीको सिर्जना र आयआर्जन बढ्छ ।’
बागलुङ नगरले प्रदेश सरकारसँगको सहकार्यमा सुरु गरेको रिङ्रोड बनाउनेदेखि बलेवा बिमानस्थल चलाउनेसम्मका प्रतिबद्धता सबै उमेद्वारका दस्ताबेजमा छन् । पर्यटनको हव बागलुङलाई बनाउने भनेका दल तथा उमेद्वारहरुले जनताको आर्थिक विकासको माग सम्बोधन गर्ननै ती योजनाहरु आएको बताउँछन् ।
सडकमा केन्द्रित मानसिकता सामाजिक बिकास र आर्थिक विकासतर्फ मोडिएको जैमिनी नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुख पदका उमेद्वार लिला रानाले बताए ।
गठबन्धनको तर्फबाट जैमिनी नगरपालिकाको प्रमुखका उमेद्वार नर बहादुर पुनले सर्वसाधारणको मागकै आधारमा हरेक क्षेत्रको विकासमा विज्ञको प्रयोग गरेर योजना बनाउने, गुरुयोजना तयार गरेर दिर्घकालिन योजना सञ्चालन गर्ने लक्ष रहेको बताए ।





