बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आचारसंहिता उल्लंघन : सम्बन्धित निकाय चुप !

आचारसंहिता उल्लंघन : सम्बन्धित निकाय चुप !

सत्ता गठबन्धन र नेकपा एमाले दुवैले आचार संहिताको उलंघन गरिरहेको सर्वसाधारण बताउँछन्।


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७९, आइतबार

बागलुङ/ स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवार तथा दलहरुले आचारसंहिताको ठाडो उल्लंघन गरेका छन् । चुनावी प्रचार–प्रसार सामग्री तथा चुनाव प्रचारको काममा आचारसंहिताको उल्लंघन भएको हो ।
मतदातालाई आकर्षित गर्नका लागि उम्मेदवारहरुले चर्को आवाजमा माइक बजाउने, प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गरिरहेका छन् । विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयहरुका भवनको प्रयोग गर्ने, रंगिन प्रचार सामग्री छाप्ने र वितरण गर्ने लगायतका आचारसंहिता बिपरितका कामहरु गरिरहेको सर्वसाधारणले गुनासो गर्न थालेका हुन् ।

‘बिहान पाँच बजेदेखि बेलुका ११ बजेसम्म माईक बज्न खाली हुँदैन्’ बागलुङ बजारमा बस्ने हिरादेवी शर्माले भनिन् ‘पढ्ने विद्यार्थीलाई समस्या हुन्छ, सुतेका मान्छेहरु पनि झस्किएर उठ्नुपर्ने अवस्था छ ।’ माईक बजाउने काम रोक्नुपर्ने उनको भनाई थियो । निर्वाचन आचार संहिताले माईकिङ गर्न निषेध गरेको छ । सत्ता गठबन्धन र नेकपा एमाले दुवैले आचार संहिताको उलंघन गरिरहेको सर्वसाधारण बताउँछन्् । साना दल तथा उम्मेदवारहरुले समेत एकाद सवारी साधनमा माईक जोडेर प्रचारप्रसार गरिरहेका छन् ।

सदरमुकाम रहेको बागलुङ बजारमा माईकिङको प्रभाव धेरै छ । मुकाम बाहिरका पालिकाबाट बजार आउने सवारीमा समेत माईक जोडेर चर्को आवाजमा गीत तथा प्रचार समग्री बजिरहेका हुन्छन् । काठेखोला गाउँपालिकामा रंगिन प्रचार समग्रीको बिगबिगी छ । स्थानीयका अनुसार उमेद्वारका फोटो भएका सामग्रीहरु घर घरमा पुगेका छन् । सदरमुकाम बाहिर गलकोट बजार, बुर्तिबाङ बजार र कुश्मीशेरा बजारमा पनि माईकिङको चर्को आवाज सुनिन्छ । बडिगाडबाट सहकर्मी अनिश पाठकका अनुसार पालिका मुकाम आउने र गाउँ फर्किने सबै सवारी साधनमा पार्टीका प्रचार सामग्री बज्ने गरेका छन् ।

यद्यपि मुख्य निर्वाचन अधिकृत र पालिकाहरुमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा भने लिखित उजुरी परेका छैनन् । तर दैनिकजसो आचारसंहिता उल्लंघन गरेको मौखिक उजुरी आउने गरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

दलहरुलाई आफूहरुले आचारसंहिताका विषयमा पटकपटक ध्यानाकर्षण गराएको भन्दै त्यसतर्फ निर्वाचन कार्यालय गम्भीर भएको उनले बताए । सहरभन्दा गाउँका डाँडाकाँडामा प्रचारात्मक सामग्री तथा चुनावी गीत गुञ्जिरहेको छ । ‘उल्लंघन भयो भनेर धेरैले भन्छन्, तर कसैले लिखित उजुरी दिनुभएको छैन्, नत पर्यवेक्षक र अनुगमन कार्ताको उजुरी छ, नत उमेद्वार र पार्टीहरुले दिएका छन्’ काठेखोलाका निर्वाचन अधिकृत हर्क बहादुर क्षेत्रीले भने ‘हामीले सुनको ठाउँमा यसो नगर्नुस् भनेका छौं, उजुरी नआई कारवाही गर्न मिलेन् ।’

अन्य जिल्लाको तुलनामा बागलुङमा नगन्य उल्लंघनका घटना भएको भएपनि त्यसलाई रोक्न प्रहरी प्रशासनसँग समन्वय भैरहेको मुख्य निर्वाचन अधिकृत न्यौपाने बताउँछन् । आचारसंहितामा सार्वजनिक स्थलमा चुनावी प्रचार तथा आमसभा नगर्ने भनेको भएपनि दलले अटेरी गर्दै आएका छन् ।

आमसभा, कोणसभा, बैठक एवं भेला गर्नु ७२ घण्टा अगाडि नै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय र स्थानको जानकारी गराउने भने पनि अहिलेसम्म कुनै पनि दलले प्रहरी प्रशासनलाई जानकारी गराएको पाइएको छैन । प्रहरी प्रशासनलाई कुन दलले कहाँ आमसभा गर्दैछ भन्नेसमेत जानकारी हुँदैन । जिल्लामा ठूला नेता आउँदा जानकारी गराए पनि अहिले दलले गाउँगाउँमा आमसभा आफ्नै तरिकाले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->