बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

निर्वाचनमा खटिनुअघि नमुना मतदान

निर्वाचनमा खटिनुअघि नमुना मतदान


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७९, आइतबार

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको प्रांगणमा जिल्लाका सुरक्षा प्रमुखसहित कर्मचारीको भीड । राजनीतिक दलका प्रतिनिधि, पत्रकार र स्थानीय मानिससमेत त्यहाँ थिए ।
तारबार लगाएर बीचमा केही सामग्री समेत राखिएकोले के होला भनेर वरपरका मानिसले पनि चासो राखे । एक राजनीतिक दलका नेताले त फोन गरेरै त्यो के को भीड हो भनेर सोध्न पनि भ्याए । आसन्न स्थानीय तह निर्वाचनकालागि खटिएका मतदान अधिकृत र सहायक अधिकृतको दुई दिने तालिम सकिएपछि आयोजित नमुना मतदानकालागि उक्त भीड र सामाग्री सहित तारबार लगाइएको थियो ।

अगाडि बसेका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, प्रहरी र सेनाका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरु दर्शकको रुपमा थिए । कर्मचारी र पत्रकार लाइनमा बसेर मतदान गर्न नामाबली हेर्दै थिए । त्यहाँ दुरुस्तै नामाबलीको लिस्ट भएपनि वास्तविक नाम थिएनन् । कोही जुठे, कोही गोरे त कोही बाटुली नाम गरेका मतदाताको नाम थियो ।

नमूना मतदानकै लागि तयार गरिएको उक्त नामावली मात्र हैन, मतपत्रमा पनि नमुना चिन्ह थिए । साइज र कोठा वास्तविक मतपत्र जस्तै भएपनि नमूना मतपत्र सहितका सामाग्री थिए । मतदान शुरु गर्नुअघि सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले मतदान अधिकृत र सहायक अधिकृतलाई रित्तो बाकस सिल गर्ने तरिकादेखि त्यसका लागि दलका प्रतिनिधिबीच गर्नुपर्ने मुचुल्काबारे जानकारी गराए ।

मतदान गर्ने स्थानको सुरक्षा बारेपनि उनले जानकारी गराए । दलका प्रतिनिधिलाई पनि उनले सम्झाए । ‘हरेक मतदाता वास्तविक हो होइन भनेर दलका प्रतिनिधिले चिन्नुपर्छ, कर्मचारीले कानूनी र प्रक्रियाबारे मात्रै जानकारी गराउने हो,’ पौडेलले भने, ‘मतदान केन्द्रमा हुन सक्ने होहल्ला र अन्य जोखिम व्यवस्थापनमा पनि सुरक्षा निकाय र दलका प्रतिनिधि मिलेर काम गर्नुपर्छ ।’ उनले कर्मचारीलाईपनि हिम्मत र फुर्तीका साथ काम गर्न सुझाव दिए ।
मतदान गर्दा बदर नहोस भनेर गरिने तरिका तथा मतपत्र पट्याउने तरिका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले सिकाए । पट्याउँदा एक चिन्हमा लगाएको छाप अर्कोमा नपर्ने गरी पछ्याउनु पर्ने तरिकाले मत बदर हुनबाट बचाउने उनको भनाइ थियो । सबै प्रक्रिया पुगेपछि लाइनमा बसेका मतदाताले मतदान गरे । गोप्य मतदान भएकोले कसैको डर, धम्की, प्रलोभन समेतमा नपरी मत खसाल्न मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।

‘यो नमूना मतदानले पनि कतिपय प्रक्रिया र तरिका सिकायो, तर मुख्य काम बैसाख ३० गतेको निर्वाचन सफल पार्ने हो,’ उनले भने, ‘जनताले उत्साहका साथ मतदान केन्द्रमा आएर मत खसाल्ने वातावरण बनाउन दल र सामाजिक अभियान्ताहरु सक्रिय बन्नुपर्छ ।’ आम नागरिकमा उत्साह भएमा सही उमेदवार निर्वाचित भएर आउने अबस्था बन्ने उनले बताए ।

नमूना मतदानले फिल्डमा खटिएपछि काम गर्ने तरिका बारे सिकाएको बालमन्दिर प्राविमा खटिएकी एक कर्मचारी कबिता शर्माले बताइन् । ‘तालिममा सिकेपनि व्यवहारिक रुपमा यहाँको नमुना कामले धेरै सिकायो,’ शर्माले भनिन्, ‘काममा परेपछि मात्र धेरै कुरा सिक्न पाइने रहेछ ।’ निर्वाचन अघि र निर्वाचन पछि गर्नुपर्ने प्रक्रिया बारे पनि नमूना मतदानले प्रष्ट बनाएको नमूना मतदानमा खटिएकी निर्वाचन अधिकृत गोमा रिजालले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->