बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तीस वर्ष भो, धारा सुक्दै गो !

तीस वर्ष भो, धारा सुक्दै गो !


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०७९, बुधबार

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिका१ का ५ सय ३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभीरमा मात्रै मुहान छ ।

दैनिक बिहान ४ बजेदेखि उठेर पानी नभरे स्थानीयले दैनिकी गर्न भ्याउँदैनन् । खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रेमबहादुर भुजेलले राती चारबजेदेखि कुरेर पानी भर्दा बिहान भर लाग्ने गरेको गुनासो गरे ।
३० वर्षअघि बनेका ५० वटा धाराको भरमा वडा नं १ को सबै बस्तीमा अझै पानी वितरण छ । पानी सुक्दै गएपछि स्थानीयले राती ४ बजेदेखि नै उठेर लाइन बस्दापनि चाहेजति भर्न नपाएको गुनासोसमेत गरे । ३० वर्षअघि तुम्डाँडाका प्रेमलाल पोखरेलले १२ किमी परको तारेभीरमा पुगेर पानीको मुहान भेटेका थिए ।

विश्व सेवा लुथ्रन नामक संस्थाले यो आयोजना निर्माण गरेको थियो । पोखरेल अहिले ७५ बर्षका भए । उनी हिँडेर मुहानसम्म पुग्न सक्दैनन् । गाउँलेले अझै अर्को मुहान भेटेका छैनन् । पहिलाको जनसंख्या बढेर दोब्बर भइसक्यो । एक घर एक धाराको अभियान पनि सुरु भयो । तर, पुरानो पानी घट्दै गएको छ । त्यसैले सरसफाइ अभियानलाई खानेपानी चुनौती बनेको छ ।

तुम्डाँडाकी सीता बिकले पानी खेप्ने हतारोले छोराछोरी समयमा बिद्यालय जान नपाएको गुनासो गरिन् । पानी भरिसकेपछि मेलापात, खेतीपाती गर्नु त छदैछ । उनको टोलमा १० घरलाई एउटा मात्रै धारो छ । दगा गाउँको वडा भवन
नजिकैको धारोमा त १५ घरले पानी थाप्नुपर्छ । रातिदेखि लाइन बस्छन् ।

कसैले पालो मिचेमा झगडा समेत हुन्छ । समयमा उठ्न सकिएन भने त पानी थाप्नै नपाइने भूजेलले बताए । ‘पानी खेपेर २ सय लीटरको ड्रम भरेर भित्र राखेपछि मात्रै ढुक्क हुन्छ’ भुजेलले भने, ‘नत्र खानेपानीदेखि शौचालय सम्मको समस्या छ ।’ बारीमा तरकारी फलाउने, गाइभैसी लाइ खुवाउने काममा त झनै धेरै पानी चाहिन्छ । दैनिक १ हजार लीटर पानी नभएसम्म दैनिकी नचल्ने भुजेलले बताए ।

टुटीफेद, गहते, सिमलचौर लगायतको बस्तीमा पनि पानीको सास्ती छ । पुरानो मुहान धेरै स्थानमा भत्केको छ । पानीको चुहावट छ, त्यसैले यहाँ नियमित पानी समेत आउँदैन । स्थानीयकै पहलमा खानेपानी तथा सरसफाइ डिभिजन
कार्यालयले पानी खुवाउने काम भने थालेको छ ।

तर, टुक्रे बजेटले यो अभियान पुरा हुन नसकेको हो । ‘केही ट्यांकी त निर्माण भैरहेका छन्, तर बजेट अभावले परा भएका छैनन्,’ स्थानीयले भने, ‘पूर्ण सरसफाइयुक्त वडा बनाउन लागेका छौं, पानीकै समस्या भयो ।’ सबै घरमा शौचालय बनेपनि पानीकै कारण कतिपय प्रयोगमा आउन नसकेको उनले बताए ।

स्थानीय मुलहरु सुक्दै गएकोले तारेभीरबाटै पानीको श्रोत बढाएर ल्याउनुपर्ने बाध्यता भएको स्थानीय बोमबहादुर थापाले सुनाए । हाल निर्माणाधीन आयोजनामा पुगेर मर्मत गर्न समेत एक दिनमा नसकिने उनले बताए ।
‘बिहानै गएका कामदार दिउँसो पुग्छन्, २ घण्टा काम गरेर फर्कन हतार हुन्छ’ थापाले भने, ‘तारे भीरमा बस्ने खानेको समस्या समेत छ ।’ दुइ महिनाअघि यहाँ निर्माणाधिन आयोजनाबाट लडेर एक कामदारको मृत्यु भएपछि स्थानीय जान समेत डराउँछन् । तारेभीर वडा नंं ३ सिसाखानी र वडा नंं ४ जलजलाको सिमानामा पर्छ ।

पानीकै अभावले ७ सय विद्यार्थी रहेको खड्गदेवी माबिमा शौचालय फोहोर छ । एउटा धारोको भरमा पानी वितरण गर्दा खाने, सरसफाइ लगायतमा अपुग भएको शिक्षकहरुले गुनासो गरे । कतिपय बालबालिका शौच गर्न समेत घर घरमा जाने गरेका छन् ।

‘पानी नभएर घरमै आएर शौचालय जान्छन्,’ स्थानीय दुर्गा थापाले भनिन्, ‘पानीकै कारण खुलादिशा मुक्त अभियान सफल पार्न कठिन भएको छ ।’ आनीबानी परिवर्तन गरेर पूर्ण सफाइ वडा घोषणाको तयारी गरेपनि पानीले चुनौती थपेको उनले गुनासो गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->