बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मतदानस्थल तयार, झन् बढ्यो रौनक

मतदानस्थल तयार, झन् बढ्यो रौनक


  • ढोरपाटन संवाददाता
  • बैशाख २९ २०७९, बिहिबार
फाईल तस्विर

बागलुङ/ सदरमुकाम बागलुङ बजारबाट निर्वाचन सामग्री बोकेर हिँडेको मतदान अधिकृत यामबहादुर जिसी नेतृत्वको कर्मचारी र सुरक्षाकर्मीको समूह अपरान्ह साढे चार बजे मतदान स्थल पुग्यो । झन्डै ६० किलोमिटर टाढा रहेको बरेङ गाउँपालिका ४, स्थित सल्यान सुखौरा माध्यामिक विद्यालय मतदान स्थलमा पुग्दा सर्वसाधारण उनीहरुको स्वागतको लागि विद्यालयमा नै थिए ।

स्थानीयले कर्मचारी र सुरक्षाकर्मीको समूहलाई आवश्यक बन्दोबस्ती र खानपानका लागि आवश्यक सामग्रीको प्रबन्ध मिलाए । निर्वाचनको समय भएकाले सर्वसाधारणको खटनपटन र साथ सहयोगको कमै आशा राखेका कर्मचारी र सुरक्षाकर्मीले स्वागतयोग्य साथ सहयोग पाए ।

‘मतदानको दिनसम्म यहाँको वातावरण यस्तै रहनेछ, हामी आशा गरौं नमुना मतदान केन्द्र बनेर शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेर हामी फर्किने छौं,’ जिसीले भने, ‘मैले योसँग चारवटा निर्वाचनमा अधिकृत भएर काम गरेको छु, यो स्थानीय निर्वाचनमा जनताको उत्साह निकै राम्रो भेटें ।’ याम बहादुर जिसीले जस्तै जिल्लाभर खटिएका २ सय ३० जना मतदान अधिकृतले सर्वसाधारणले यस्तै व्यवहार पाए ।

मंगबार साँझ पुगेको मतदान अधिकृतको समुहले बुधबारदेखि धमाधम मतदानका लागि आवश्यक संरचना तयारीको काम गरिरहेको छ । बुधबार दिउँसो सर्वदलिय बैठक राखेर मतदान अधिकृतहरुले शान्तिपुर्ण निर्वाचनका लागि सबैको साथ र सहयोगको अपेक्षा गरे । मतदान स्थलको सरसफाई, व्यवस्थान होस् वा मतदान केन्द्रको तारबारको काममा मतदान अधिकृतहरुले साथ पाएको बताएका छन् ।

जिल्लाभर रहेका १ सय ३ मतदान स्थलका २ सय ३० मतदान केन्द्र यो समाचार तयार पार्दासम्म धमाधम तयार भइरहेका थिए । मौन अवधि सुरु भएकाले दल तथा उम्मेद्वारहरुको मत माग्ने चहलपहल घटेको भएपनि मतदानस्थल तयार भएपछि भने निर्वाचनको रौनक थपिएको छ ।

‘नयाँ मतदाताहरुका लागि मतदाता परिचयपत्र वितरण भइरहेको छ, युवा युवतीहरु उत्साजकनक हिसाबले परिचय पत्र लिन आउनुभएको छ,’ बागलुङ बजारको बुद्धबिहार मतदान केन्द्रका मतदान अधिकृत इश्वरी प्रसाद शर्माले भने, ‘मतदाता मत दिन उत्साहित छन् भन्ने बुझिन्छ ।’

निर्वाचनको समयमा बागलुङमा अवान्छनीय घटना धेरै पहिलादेखि घट्ने गरेका उदाहरण छन् । २०६४ सालमा भएको संविधानसभा निर्वाचन होस् अथवा २०७० को दोस्रो निर्वाचन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा समेत बागलुङमा विभिन्न राजनीतिक घटनाहरु भएका थिए । तर, यो वर्षको स्थानीय तह निर्वाचनमा मतदानको समय एक दिन मात्रै बाँकी रहँदा शान्तिपूर्ण रुपमा निर्वाचनको तयारी हुनुलाई सर्वसाधारणले सुखद भनेका छन् ।

‘हाम्रो जिल्लाले यो वर्ष नमुना निर्वाचन गरेर देखाउँछ, अहिलेसम्म अप्रिय केही भएको छैन् र हुँदैन,’ मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले भने, ‘शान्तिपूर्ण निर्वाचनका लागि सहयोग गर्न हामिले सबैलाई आग्रह गरेका छौं ।’ जिल्लाभर मतदानस्थल तोकिएका अधिकांश विद्यालय सिंगारिएका छन् । मतदान स्थलहरुमा देखिएको उत्साहले निर्वाचनलाई थप सहयोग पु¥याउने आयोगको विश्वास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->