पोखराका मेयरका प्रत्यासी धनराज आचार्य प्रारम्भिक गणनामा अगाडि देखिएका छन् । तर, उनी चिन्तित छन् । उनको चिन्ताको कारण हो–बदर मत । गठबन्धनबाट उम्मेदवार बनेका उनलाई मेयरमा आफूलाई भनेर आउने मत अन्यत्र गएको चिन्ता छ । सोचेभन्दा कम मत बदर भएको भनिए पनि बदर मत निर्णायक बन्न सक्छ । पोखराको मात्रै नभएर यो देशभरकै समस्या हो । मुख्य निर्वाचन कार्यालय पोखरामै गरिएको नमूना मतदानमा ५३ मत खसेकोमा ९ वटा बदर भएका थिए । त्यसले नै मतदाता शिक्षा प्रभाकारी नभएको र मत बदर हुने सम्भावना औंल्याएको थियो । तर, ढिला भइसकेको थियो । २०७४ सालको चुनावमा ५ लाख ८८ हजार ४०१ मत बदर हुँदा गण्डकीमा २१ हजार ७५५ मत बिग्रेको थियो । यो पटक लामो मतपत्र, गठबन्धन गरेर चुनावी मैदानमा उत्रेका राजनीतिक दलहरुका कारण त्यो संख्या बढ्ने अनुमान गरिएको छ र प्रारम्भिक नतिजाले त्यसको पुष्टि पनि गरेका छन् ।
मतदाता शिक्षा प्रभावकारी बनाउनु निर्वाचन आयोगको कर्तव्य हो । आयोगले यो पटक मतदाता शिक्षालाई उति ध्यान दिएन । राजनीतिक दलहरुले नै मतदाता शिक्षा दिएको भन्दै कर्मकाण्डी काममात्रै भयो । गठबन्धन बनाएर चुनावमा होमिएका हुन् वा एक्लै प्रतिस्पर्धा गरेका दल र स्वतन्त्र उम्मेदवारहरुले पनि मतदाताकहाँ जाँदा मतदान गर्ने तरिका सिकाउन सकेनन् । उनीहरुले तामझाम प्रदर्शन गरे तर मतदातालाई सही तरिकाले मतदान गर्ने प्रक्रिया सिकाएनन् । जसले गर्दा आवश्यक भन्दा बढी ठाउँमा स्वस्तिक चिन्ह लगाउने, उम्मेदवार नै नभएको ठाउँमा पनि मत जाहेर गर्ने समस्या देखिएका छन् । मतपत्रमा देखिएका यस्ता अभिमतका कारण मतगणना प्रभावित भएको छ, कतिपय ठाउँमा यही विषयलाई लिएर तनाव र मतगणना स्थगनसम्मका घटना भएका छन् । नागरिकहरु आफूले चाहेको ठाउँमा मत दिन स्वतन्त्र छन् तर उनीहरुलाई सही तरिकाले मतदान गर्न सिकाइनुपथ्र्यो । जुन कुरामा निर्वाचन आयोग र दलहरु चुकिसकेका छन् । अब चुकचुकाएर काम छैन । यो निर्वाचनको गल्ती अर्कोमा नदोहोरियोस् भन्नेतर्फ अहिलेदेखि नै तयारी भने गरिनुपर्छ । प्रदेश र संघीय निर्वाचन आउँदै गरेको सन्दर्भमा बदर मतलाई गम्भीरतापूर्वक लिनैपर्छ । मतदाता शिक्षालाई प्रभावकारी बनाइनुपर्छ र बदर मतको संख्या घटाउनेतर्फ लाग्नुपर्छ ।
