देश निर्वाचन परिणामको व्यग्र प्रतीक्षामा रहँदा नेपालीको वर्षौंदेखिको अर्को प्रतीक्षा पूरा भएको छ । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ भने त्यहाँबाट अल जजिरा एयरले उडान भरिसकेको छ । ७२ वर्षपछि गौतम बुद्धको नाममा अर्को विमानस्थल संचालनमा आएपछि अब विदेश जान वा स्वदेश फर्कन काठमाडौं नै जानुपर्नै बाध्यता अन्त्य भएको छ । हवाइ ट्राफिकका कारण काठमाडौंको आकासमा घण्टौं घुम्नुपर्ने,कथंकदाचित अवतरण हुन नसके भारत वा अन्य देश जानुुपर्ने अवस्थाको अन्त्य भएको छ । नेपालको पर्यटन उद्योगको लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ‘टर्निङ प्वाइण्ट’ भन्ने निश्चित भएको छ ।
अहिले पनि काठमाडौंमा विमान अवतरण नभए भारत जानुपर्ने अवस्था छ । नेपाल आउने र जाने सबै विमानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आउनुपर्ने बाध्यताले गर्दा ट्राफिक जामको समस्या छ । यी यावत् समस्याका कारण नेपालको हवाइ उडान झन्झटिलो छ । नेपालमा हाल एयर अरेबिया, एयर इन्डिया, एयर चाइना, विमान बंगलादेश, फ्लाई दुवई, जजिरा एयरवेज, कतार एयरवेज, सलाम एयर, टर्किस एयरलाइन्सले दैनिक उडान गर्दै आइरहेका छन् । नेपालको श्रम गन्तव्य मुलुक र अन्य ठाउँमा पनि थप एयरलाइन्सले उडान भर्नसक्ने सम्भावना छ ।
भैरहवामा विमानस्थल बनेपछि यो सम्भावना अझ प्रवल भएको छ । सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी २०१५ मा सुरु भएको विमानस्थल समयमै निर्माण हुन सकेन । तर, ढिलै भए पनि विमानस्थल बनेको छ । विमानस्थलबाट अहिले अल जजिराले हप्ताको ३ दिनमात्रै उडान भर्ने जनाएको छ । त्रिभुवन विमानस्थलको विकल्पको रुपमा निर्मित विमानस्थललाई नियमित र प्रभावकारी रुपले संचालन गर्न त्यसको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ । पर्याप्त कर्मचारीको व्यवस्था, यात्रुलाई सुविधा तथा विदेश जाँदा÷आउँदा देखिने समस्या समाधानमा उत्तिकै ध्यान दिनुपर्छ । विमानस्थलमात्रै सबैथोक हैन । विदेश जान–आउनको लागि आवश्यक पर्ने कागजाज लिन काठमाडौं नै जानुपर्ने बाध्यताको अन्त्य, भैरहवाबाट देशैभर आन्तरिक उडान तथा स्थल मार्गको स्तरोन्नतिलेमात्रै यो विमानस्थलको भविष्य निर्धारण गर्छ । विमानस्थललको दिगो संचालनको लागि संचालनबाट मुनाफा आर्जन हुनुपर्छ । कम्तिमा खर्च धान्नुपर्छ तर त्यसको लागि संचालनको तौरतरिका भने मिलाउनैपर्छ । विमानस्थल वैकल्पिक हो भन्ने सोचबाट काठमाडौं मुक्त हुनुपर्छ । कम्तिमा भैरहवा विमानस्थल केन्द्रीकृत सोचको अन्त्य गर्ने र पर्यटनको लागि कोषेढुंगा बन्नुपर्छ ।
