बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

फलेवास नगरपालिकामा गठबन्धनका उम्मेदवारको जीत

फलेवास नगरपालिकामा गठबन्धनका उम्मेदवारको जीत


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७९, मंगलबार

पर्वत /पर्वतको फलेवास नगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले नगरप्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएका छन् । नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गंगाधर तिवारीले १ हजार ३२० मतले एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गरेका हुन् । तिवारीले ७ हजार ७०० मत ल्याउँदा शर्माले ६ हजार ३८० मत पाएका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका नेता गंगाधर तिवारीलाई ३३८ मतान्तरले हराउँदै नेकपा एमालेका पदमपाणी शर्मा नै फलेवास नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । त्यो वेलाको निकै प्रतिस्पर्धी र उत्साहपूर्ण निर्वाचनमा शर्माको पक्षमा ६ हजार १०३ मत आउँदा तिवारीको पक्षमा ५ हजार ७५५ मत परेको थियो । पाँच वर्षअघि प्रतिस्पर्धा गरेका तिनै शर्मा र तिवारी पुनः चुनावी मैदानमा रहे । दोहोरिने दाउमा रहेका शर्मा २०७४ को बदला लिन खोजेका तिवारीसँग पराजित भएका छन् ।

गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिएका तिवारीलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका कार्यकर्ता–समर्थकले पनि मतदान गरेका थिए ।

नगरको उपप्रमुखमा गठबन्धनको तर्फबाटै उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी शोभाकुमारी क्षेत्री निर्वाचित भएकी छिन् । क्षेत्रीले ६ हजार ३२७ मत ल्याउँदा संस्थापक उपप्रमुख समेत रहेकी एमालेकी उम्मेदवार मञ्जु अधिकारी प्यासीले ६ हजार ५७ मत प्राप्त गरिन् । अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्रबाटै उपप्रमुखमा उम्मेदवारी दिएकी क्षेत्रीले उति बेला ६९६ मत मात्रै ल्याएकी थिइन् ।

योसँगै फलेवासका ११ ओटा वडाहरूमध्ये ६ ओटा वडामा नेपाली काँग्रेसका र ५ ओटा वडामा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । एमालेबाट वडा–२, ५, ७, ८ र ११ मा क्रमशः गङ्गानारायण श्रेष्ठ (८६२), नारायणप्रसाद लामिछाने (६६१), केशर पन्त (४३८), मनबहादुर कुँवर (४५०), रुद्र बहादुर पाठक (५८७) रहेका छन् । यस्तै नेपाली काँग्रेसबाट वडा–१, ३, ४, ६, ९ र १० मा क्रमशः चोलाकान्त पाध्या (६१०), अर्जुनबहादुर के.सी (१३३६), अच्युत तिवारी (७११), नवीनकुमार श्रेष्ठ (१००६), हितमान गुरुङ (५११) र अमरबहादुर क्षेत्री (६३७) रहेका छन् ।

काँग्रेसले अघिल्लो निर्वाचनमा जितेको पाङराङ गुमाउँदा अघिल्लो पटक गुमाएको कार्कीनेटा, मुडिकुवा, भंगरा र कुर्घामा भने ‘कम ब्याक’ भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->