भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँचौं पटक नेपाल आए । बुद्ध पूर्णिमाको दिन लुम्बिनीमा भएको यो भ्रमण दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो थियो । पारिपट्टिको कुशीनगरमा आएका मोदीले लुम्बिनीमा एक दिन बिताए । नेपाली समकक्षी शेरबहादुर देउवासँग द्धिपक्षीय भेटवार्ता गरे । भ्रमणको क्रममा केही सम्झौता भए तर ती उल्लेखनीय रहेनन् । भारतीय प्रधानमन्त्री यो पटकको भ्रमणमा ‘भक्त’को भेषमै आए । श्रद्धापूर्वक पूजाआजा गरे । नेपाल आउँदा आफूलाई छुट्टै आध्यात्मिक आनन्द हुने भन्दै उनले आफ्नो भ्रमण धार्मिक नै भएको सन्देश प्रवाह गरे ।
भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमण नेपालको लागि भने महत्वपूर्ण नै रह्यो । शक्तिराष्ट्रका प्रधानमन्त्रीले लुम्बिनी आएर गौतम बुद्धको जन्मथलो त्यही भएको दोहो¥याइदिए । सगरमाथा र नेपाली सम्पदाको वर्णन गरेर पर्यटकीय सम्भावनाको ढोका खोलिदिए । कम्तिमा बुद्ध भारतमा जन्मेका हुन् भन्ने अपवाहलाई उनी स्वयंले तोडेर नेपालप्रति गुन लगाए । भारतीय प्रधानमन्त्री आएकै दिन भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । मोदीले सो विमानस्थल प्रयोग त गरेनन् तर नेपालले मोदीको भ्रमणबाट पर्यटक बढ्ने र विमानस्थल पूर्ण रुपले संचालनमा आउने आशा राख्न पायो । बुद्ध जन्मस्थल संसारकै बौद्ध धर्माबलम्बीको आस्थाको केन्द्र हो र त्यसको प्रवद्र्धनबाट नेपालले लाभ लिनुपर्छ । मोदीको यो भ्रमणलाई त्यही रुपमा उपयोग गर्न सके भ्रमण फलदायी नै भएको मान्नुपर्छ ।
भारत नेपालको छिमेकी हो र छिमेकीसँग सबैभन्दा ठूलो व्यापारिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध छ । यी सबन्ध दुई देशबीच असल मित्रता बढाउने कारकहरु हुन् । तर, नेपाल र भारतबीच समस्या पनि उत्तिकै छन् । तर, भ्रमणको क्रममा दुई देशबीच देखिएका कयौं समस्याबारे केही पनि कुरा नहुनुले भने नेपाललाई निराश बनाएको छ । खासगरी सीमा समस्या समाधान, बढ्दो व्यापार घाटा,भारतमा रहेका नेपालीको हितजस्ता विषयमा कुरा नहुनुले यो भ्रमणको महत्व घटाएको छ । भारत अन्र्तराष्ट्रिय मञ्चमा नेपालको सहयोग चाहन्छ तर भइरहेका जटिलताको गाँठो फुकाउने जमर्को गर्दैन । जबसम्म भारत र नेपालबीच रहेका समस्या सुल्झाइन्नँ, यस्ता उच्चस्तरीय भ्रमणले आशंकाहरु मेट्न सक्दैनन् । पछिल्लो समय भारत नेपालमा बढ्दो चिनियाँ चासोसँग झस्केको छ । उसको चासो संवोधन हुन पनि भएका आशंकाहरु मेटाइनुपर्छ भन्ने चाहिँ यो भ्रमणको क्रममा देखिएन । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि भारत भ्रमणकै अवसरमा सीमा विवाद समाधानको आग्रह गरेका थिए । लुम्बिनी तीर्थाटनको बेला त्यो विषयमा केही प्रगति भएको भए भ्रमण अझ फलदायी हुन्थ्यो । नेपालीको भारतप्रतिको भरोशा अझ बढ्थ्यो ।
