बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काम भए प्रचार भएन् : पौडेल

काम भए प्रचार भएन् : पौडेल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ७ २०७९, शनिबार

बागलुङ/ बागलुङ नगरपालिकाका निर्वतमान प्रमुख जनक पौडेलले दल भित्रको अराजक गतिविधि, अनुशासनहिन काम तथा पाँचदलीय गठबन्धनको घेराबन्दीले हार व्यहोरेको बताएका छन् ।

निर्वाचनमा पराजित भएपछि पत्रकार सम्मेलन गर्दै पौडेलले एमालेको निर्वाचन तयारी र परिचालन तथा उमेदवार छनौटमा कमजोरी हुँदा निर्वाचन सोचे जस्तो नभएको बताए । उनले माओवादी लगायतका तरल मत नपाएकोले निर्वाचन हारेको बताए । ‘नेतृत्व प्रति पनि केही गुनासा छन्, अहिले भन्दिन, तर कमजोरी भने भएको छ’ उनले भने, ‘दलको उमेदवार भएर इमान्दारीता प्रस्तुत गरेको छु ।’ उनले आफ्नो कामको भ्रामक प्रचार गरिएको, तथ्यगत रुपमा खण्डन गर्न नसकेको र नगरपालिकाले गरेका महत्वपूर्ण कामको पार्टीले अपनत्व नलिएको दावी गरे ।

उनले चार बर्ष सम्म दलभित्रको क्रियाकलाप सुस्त भएकोले संगठन कमजोर भएको समेत स्विकारे । ‘नेकपाबाट पार्टी फुट सम्मको अवस्थामा आइपुग्दा संगठन गर्न सकिएन’ उनले भने, ‘नगर प्रमुख भएर गरेका महत्वपूर्ण पूर्वाधार र कामको मूल्यांकन पनि पार्टीले गरेन ।’ आलोचक कार्यकर्ताले भने पौडेलले दलका कार्यकर्ताको कुरा नसुन्दा मत घटेको टिप्पणी गरेका थिए ।

पौडेलले प्रेस बिज्ञप्ती प्रकाशित गर्दै आम मतदातालाई धन्यवाद समेत दिएका थिए । उनले आफ्नो कार्यकालमा महत्वपूर्ण र ठूला पूर्वाधारको काम भएको र केही शुरुवात भएको बताए । उनले बलेवा बिमानस्थल निर्माण, बसपार्क, गण्डकी स्वर्णिम झुला जस्ता पूर्वाधार गरेको बताए । ‘बजेटका हिसाबले केन्द्रको हो, तर अपनत्व हामीले लिंदा समयमा पुरा भए’ उनले भने, ‘अभैmपनि नियमित पहल भएन भने कतिपय योजना अलपत्र पर्न सक्छन् ।’ बागलुङ नगर अस्पताल, शहरी शासकीय सुधार परियोजना, मालिका बन्यजन्तु तथा वासस्थान केन्द्र, ढल निकाको कार्यक्रम पुरा गर्न नियमित ध्यानाकर्षण गर्नुपर्ने सुझाव समेत दिए ।

संघियताको पहिलो खुट्कीलोको रुपमा संविधानमा व्यवस्था गरेर स्थानीय सरकार बनेको भएपनि राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले तल्लो तहलाई नजर अन्दाज गरेको टिप्पणी गरे । उनले कतिपय योजना संघिय सरकारको वेवास्ता र गैरकानूनी कामले निर्माण गर्न नसकेको बताए । ‘कानूनमा लेखेको छ, कार्यविधि र निर्देशिका पठाएर काटिएको छ’ उनले भने, ‘संविधानले दिएको अधिकार पनि पालिकाले प्रयोग गर्न पाएनन् ।’ जिल्ला तहमा खारेज भएका कार्यालयका भवन तथा अन्य स्वामित्व स्थानीय तहमा रहनेछ भनेपनि संघिय सरकारले कामै नगरिदिएको गुनासो गरे । ‘हिजोको एमाले सरकार देखि वर्तमान सरकारलेपनि स्थानीय तहको मर्म र भावना बुझेन’ उनले भने, ‘आफ्नै पहलमा गरेका कामले मात्रै हामीले सफलता पाएका हौं ।’ उनले कोभिडको संक्रमण र निशेधाज्ञाको समयमा स्थानीय तहले गरेका कामको राज्यले मूल्यान नगरेको उनले बताए । उनले स्थानीय तहले गरेका कामबाट कोभिडको संकटका बेला धेरै जनताको ज्यान बचाउन सकिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->