सुन्दा नै आङ सिरिङ्ग पार्ने बलात्कारको एउटा घटना सार्वजनिक भएको छ । सन् २०१४ मा बलात्कृत भएकी किशोरीले हिम्मत जुटाएर ८ वर्षपछि घटना सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जालमार्फत् घटना सार्वजनिक भएसँगै नेपाली समाज पुनः जागृत र आक्रोशित भएको छ । त्यही आक्रोशको वलमा बलात्कारी मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । तर,अभियुक्त पक्राउ पर्नुलेमात्रै आक्रोश थामिएको छैन । बलात्कारीलाई कडा कारवाहीको माग गर्दै स्वतःस्फूर्त रुपले देशभर प्रदर्शन भएको छ । अभियुक्त पक्राउ गरिसकेपछि पनि एक वर्षको हदम्यादको छिद्र प्रयोग गर्दै उम्किने हो कि भन्ने त्रास देखिएको छ । नेपालको कानूले बलात्कारको घटनाको हदम्याद एक वर्ष कायम गरेको छ । तर,यस्तो जघन्य अपराधमा संलग्नलाई एक वर्षको हदम्याद देखाएर उन्मुक्ति दिन नहुने र कानून संशोधन हुनुपर्ने धेरैको मत छ । यो स्वभाविक पनि हो ।
सौन्दर्य प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीले भोगेको पीडा यति दर्दनाक छ कि, त्यसमा संलन अपराधीले कुनै पनि कोणबाट उन्मुक्ति पाउनु हुँदैन । आफूमाथि के हुँदैछ भन्ने जानकारी नै नहुने उमेरमा उनीमाथि बलात्कार भयो र त्यसको ६ महिनासम्म लगातार उनी यौन हिंसाको शिकार बन्न पुगिन् । उनले घटनाबारे अन्य व्यक्तिलाई जानकारी गराएको पनि खुलेको छ । तर, साथ प्राप्त भएन । साथ पाएको भए, पीडकले यसअघि नै सजाय पाउने अवस्था सिर्जना हुनसक्थ्यो । बेसहरा बनेकी किशोरीले ८ वर्षपछि नै सही, हिम्मत जुटाएकी छन् । अपराधीविरुद्ध मुख खोलेकी छन् ।
पक्राउ परेका अभियुक्तलाई कडा कारवाही गर्दै बलात्कारविरुद्ध कसिलो कानून निर्माण गर्ने अवसर सिर्जना गराइएकी छन् । घटना सार्वजनिक भएसँगै कानूनका छिद्रहरुबारे चर्चा चलिसकेको छ । प्रहरी स्वयं कुन कानून अनुसार अभियुक्तलाई कारवाही गर्ने भन्ने अन्यौलमा छ । यस्तोमा बलात्कारविरुद्ध दिइने उजुरीको हदम्याद बढाउनुको विकल्प छैन । बलात्कारजस्तो जघन्य अपराधमा हदम्यादको प्रावधानले अपराध बढाउँछ । महिलामाथि असुरक्षा थपिन्छ । अझ यी किशोरीमाथि भएको घटना त फरक छ । आफूमाथि के घटित हुँदै छ र के गर्ने भन्ने जानकारी नै नभएकी किशोरीले उजुरी गर्ने अवस्था नै नबनेको उनको अभिव्यक्तिले प्रष्ट पारेको छ । विश्वका विभिन्न देशको अवस्था हेर्दा पनि नेपालका बलात्कारविरुद्धको कानून फितलो देखिएको छ । फितला कानून संशोधन गर्नु र महिला र किशोरीलाई बचाउनेतर्फ राज्यले विशेष कदम चाल्नुपर्छ । बलात्कारीलाई यो वा त्यो तर्कको भरमा उन्मुक्ति दिइनु हुँदैन । रह्यो, विभिन्न नामबाट आयोजना हुने सौन्दर्य प्रतियोगिता । यी प्रतियोगिताहरु पारदर्शी छैनन् र एकदम कममात्रै असल नियतका मान्छे आयोजक रहँदै आएका छन् । यस्ता कथित सौन्दर्य प्रतियोगिताहरुमाथि नजर लगाउनुपर्ने अर्को आवश्यकता पनि यो घटनाले पुष्टि गरेको छ ।
