स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । परिणाम आएपछि जनप्रतिनिधिहरु बधाइ खाने माला र खादा लगाउने काममा व्यस्त छन् । उनीहरुकालागि अझै केही समय यस्तै काममा बित्ने देखिन्छ । त्यसो त यस अघिका निर्वाचित जनप्रतिनिधिहरुले पनि यस्तै समय बिताएका थिए । अहिलेपनि केही दिन फुलमालामा बित्ने निश्चित छ । यसरी खादा मालामा लाग्दा बिस्तारै जनप्रतिनिधिलाइ मत दिएका जनता भन्दा फाइदा लिनेहरुले घेर्ने निश्चित छ ।
जो सत्तामा आयो उसैको चाकरी गर्ने अघिपछि गर्ने र फाइदा लिने प्रवृत्ति हाम्रो समाजमा छ । यस्तै प्रवृत्तिका कारण जनप्रतिनिधिहरु बिस्तारै काममा भन्दा फाइदामा हिड्ने दलाल र व्यपारीको चंगुलमा फस्ने संभावना बढी हुन्छ तर जनप्रतिनिधिले त्यो बुझेका छैनन् । हिजोका जनप्रतिनिधिहरु किन हारे अहिले किन जनताले नयाँ मानिस खोजेका हुन् भन्ने बुझ्न सकिएन भने ५ बर्षमै जनमत फेरिन्छ । फेरिने मात्र हैन अहिले पाएको जनमत र विश्वास नै प्रतिउत्पादक बन्छ ।
जनताको घरदैलोमा पुगेर काम गर्नुपर्ने बिकासका धेरै योजना ल्याएर समृद्ध नगर र गाउँ बनाउनुपर्ने दायित्व जनप्रतिनिधिले समयमै बुझ्नुपर्छ । हिजो बिरोधमा हिड्नेहरुले घेराबन्दी पारेर आँफै कार्यकर्ता हुँ मेरै कारणले मात्रै निर्वाचत जितेको हो भन्ने भान पार्ने गरी अघिपछि लागेकाहरुबाट जोगिन सकेनन् भने जनप्रतिनिधिहरु शुरुवातमै दलदलमा फस्नेछन् । यो प्रवृत्ति ले बिकास गर्न नदिएको हो भन्ने शुरुवातमै जानेर उनीहरुलाई पाखा लगाउने तथा जनताको वास्तविक समस्यामा काम गर्ने वातावरण बनाउन सकेनन् भने जनप्रतिनिधिहरुको दिनगन्ती शुरु भैसकेको छ भन्न सकिने अबस्था आएको छ ।
स्थानीय सरकारका प्रमुख उपप्रमुख तथा वडा तहका प्रतिनिधिले जनताले भोगेको सास्ती बिरुद्ध लाग्नुपर्छ बरु उनीहरुको आवस्यकता पुरा गर्ने र सहभागितात्मक बिकासका मोडल भित्राउन सक्नुपर्छ । नत्र जनता जर्नादन हुन भन्ने स्पष्ट अबस्था देखिइसकेको छ । हिजो मै हु भन्नेहरु जनताको मतले हारेको, नपत्याएका मानिसले ल्याएका योजनामा जनता सहमत भएको र राजनीतिक दलहरु हावाकावा भएर स्वतन्त्र उमेदवारहरु बिजयी भएको हामीले स्पष्ट देखेका छौं । स्वतन्त्र उमेदवारले जितेको त्यसै होइन, राजनीतिक दलहरुले पनि केही गर्न सकेनन् जनताको चाहना अनुसारका योजना र कार्यक्रम ल्याउनु भन्दा कमाउ धन्दामा लागेको र राजनीतिक सिण्डीकेट समेत लादेको अबस्था देखेपछि जनताले आफ्नो मत फेरेको देखिन्छ ।
राजनीतिक दलहरु सबै पानी माथीको ओभानो भैसकेका छन् कोहीपनि भ्रष्टाचारबाट बाहिर उम्कन सकेनन् । बरु उनीहरु मिलेमतोमा फसेको देखिन्छ । शिर्ष नेताहरुलाइ हामी बाहेक कोही छैन भनेर निरंकुशतामा जान खोज्ने बानी परेको छ, भने स्थानीय तहमा आएका जनप्रतिनिधिलेपनि साधन स्रोतको ब्रम्हलुट गरेको देखिन्छ । त्यसैले जनताले धेरै सोचेर परिवर्तन खोजेका छन् । जुन प्रवृत्ती बिरुद्ध लडेका थिए त्यही प्रवृत्ति राजनीतिक नेतृत्वमा पनि देखिएपछि जनतामा वितृष्णा पलाएको छ । यो वितृष्णाले कतै दलहरुको अस्तित्व समाप्त भएर स्वतन्त्रहरु उदाउने त होइनन् भन्ने खतरा छ । अबको ५ बर्ष दलहरुले आफ्ना कामको औचित्य पुष्टी गर्न सकेनन् भने आगामी निर्वाचनमा दलका उमेदवार भन्दा स्वतन्त्र उमेदवारले सबै जिल्ला कब्जा गर्नेछन् । त्यसको लक्षण अहिले देखिएको हो । त्यतिबेला बहुदलीय व्यवस्था लोकतन्त्र र गणतन्त्रको कुरा गर्ने राजनीतिक दलहरु आफ्नै अस्तित्व रक्षा गर्न नसकेर पलायन बन्नुपर्ने अबस्था आउने छ । समयमा सोच्ने की ?
