स्थानीय तहको निर्वाचनको दौरान केही स्थानीय तहको परिणाम आउनु भन्दा अगावै गठबन्धन सरकारले मंगलवार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । निकै तामझामका साथ राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम विगतमा जस्तै महत्वाकाँक्षी देखिएको छ ।
सरकारलाई सफल भएको जस्तो देखाउन सरकारहरुले विभिन्न लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गर्ने यस अघिकै परम्परा हो । तर त्यसको कार्यान्वयन पक्ष भने सोचनीय हो ।
सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘हार्डवयर’ पक्षमा धेरै जोड दिईएको छ । पक्कै पनि विकासोन्मुख मुलुकमा पुर्वाधार निर्माणलाई प्राथमिकता दिनु राम्रो पक्ष हो । तर नेपाली समाजको ‘सफ्टवयर’ पक्षलाई पनि उत्तिकै प्राथमिकता दिनु जरुरी हुन्छ ।
नेपाली समाजको ‘हार्डवयर’ र ‘सफ्टवयर’को विकासलाई समानान्तर रुपमा अगाडी बढाउँदै साधारण खर्चलाई नियन्त्रण गरेर नीति तथा कार्यक्रमलाई अगाडी बढाउन सक्नु पर्दछ ।
जतिसुकै आधुनिक समाज भएर अगाडी बढेपनि नेपाली समाज अझै पनि धेरै समस्याबाट गुज्रिएको छ । आधुनिक समाजको विकाससँगै नयाँ नयाँ समस्याहरु पनि थपिएका छन् । ती समस्याको मिहिन ढंगले विश्लेषण गरेर सामाजिक अन्तरविरोध र सामाजिक समस्याहरु सुल्झाउनु अहिलेको प्रमुख आवश्यकता हो ।
सरकारले अहिले जसरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ, त्यो निकै महत्वाकाँक्षी छ भन्ने कुरा स्पष्ट छ । तर ती कार्यक्रम अक्षरशः कार्यान्वयन हुन्छन की हुन्नन् भन्ने कुरामा नेपाली जनता दोधारमा छन् ।
त्यसो त विश्वका कुनैपनि सरकारले ल्याउने नीति तथा कार्यक्रम अलोकप्रिय हुँदैनन् । तर कार्यान्वयनको पाटो भने फितलो देखिँदै आएको छ । नेपालको सन्दर्भमा त्यसो नहोस् ।
नेपाल सामाजिक रुपमा जति जति जटिल भएको छ, सोही अनुसार परिवर्तित सामाजिक परिवेश अनुसारका नीति तथा कार्यक्रम ल्याईएको छ । तर यसको कार्यान्वयनमा राज्यका सबै निकाय ईमान्दारितापुर्वक लाग्नु अििहलेको आवश्यकता हो ।
जनतालाई झुलाउने खालका कार्यक्रम संसदमा सुनाएर मात्रै देशको परिवर्तन हुन सम्भव छैन । जनतालाई देखाईएका र सुनाईएका कार्यक्रममा उचित बजेट विनियोजन गरेर प्रभावकारी कार्यान्वयन हुनु जरुरी छ ।
