पर्वत / हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट पर्वतमा ४० प्रतिशत पदमा महिला उम्मेदवारहरू निर्वाचित भएका छन्।
पाँच ओटा गाउँपालिका र दुई ओटा नगरपालिकाहरू रहेको पर्वतमा सबैभन्दा बढी कुश्मा नगरपालिकामा ४१.६७ प्रतिशत र सबैभन्दा कम जलजला गाउँपालिकामा ३८.३० प्रतिशत महिलाहरू निर्वाचित भएका जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए। उनका अनुसार पैयुँ गाउँपालिकामा ४०.५४, फलेवास नगरपालिकामा ४०.३५, महाशिला गाउँपालिकामा ४०.६३, मोदी गाउँपालिकामा ४०.४८ र बिहादी गाउँपालिकामा ४०.६३ प्रतिशत महिला जनप्रतिनिधिका रूपमा निर्वाचित भएका छन् ।
कुश्मा नगरपालिकामा रहेका कुल ७२ पदमा २०१ जनाको उम्मेदवारी परेको थियो। उनीहरूमध्ये ७५ जना महिला उम्मेदवार रहेकोमा ३० जना निर्वाचित भएका छन्। जलजला गाउँपालिकामा ४७ पदमा कुल १३३ जनाको उम्मेदवारी रहेको थियो। जसमा महिला उम्मेदवारको सङ्ख्या ५२ रहेकोमा तीमध्येका १८ जना विजयी भएका छन्। पैयुँ गाउँपालिकामा १५ जना महिला निर्वाचित भएका छन्। त्यहाँ रहेका ३७ पदमा ३४ जना महिला सहित १०० जनाको उम्मेदवारी परेको थियो ।
फलेवास नगरपालिकामा रहेका कुल ५७ पदमा १५७ जनाको उम्मेदवारी रहेको थियो। जसमा ५५ जना महिला उम्मेदवारहरू रहेकोमा २३ जना निर्वाचित भएका छन्। महाशिला गाउँपालिकामा ३२ पदमध्ये १३ पदमा महिलाले जितेका छन्। त्यहाँ २८ जना महिला सहित ७२ जनाको उम्मेदवारी रहेको थियो। मोदी गाउँपालिकाका ४२ पदमध्ये १७ पदमा महिला पुगेका छन्। कुल ११९ जना उम्मेदवारहरूमध्ये महिला उम्मेदवारको सङ्ख्या ४४ रहेको थियो। बिहादी गाउँपालिकामा १३ जना महिलाहरू निर्वाचित भएका छन्। कुल ३२ पदका लागि ७८ जनाको उम्मेदवारी रहेकोमा महिला उम्मेदवारहरूको सङ्ख्या ३० रहेको थियो ।
सात ओटै स्थानीय तहमा रहेका कुल ३१९ पदमा ८६० जना उम्मेदवारहरू रहेकोमा १२९ जना महिलाहरू विजयी भएका छन् ।





