बागलुङ/ बागलुङ नगरपालिकाले अव्यवस्थित सवारी पार्किङ र होर्डिङ बोर्ड व्यवस्थापन गर्ने भएको छ । नगर कार्यपालिकाको मंगलवारको बैठकले बसेर ट्राफिक व्यवस्थापनकालागि समिति समेत गठन गरेको हो ।
साँघुरा गल्लीमा समेत पार्किङ गरेर दुर्घटनाको जोखिम भएकोले वडा नंं २ का अध्यक्ष सुरज बोसेलको संयोजकत्वमा बजार व्यवस्थापन समिति गठन भएको हो । उक्त समितिले पहिलो १० दिनमा पार्क गर्ने जग्गा व्यवस्थापन गर्नेछ ।
जग्गा भेटिएपछि नगरपालिकाले पार्कका लागि व्यवस्थापन गर्ने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘जग्गा छनौट गरेपछि अनिवार्य सोही स्थानमा पार्क गर्ने व्यवस्था गरिनेछ’ उनले भने, ‘सडकमा जथाभावी पार्क हटाएपछि नगरको सुन्दरता बढ्नेछ ।’ उनले अव्यवस्थित रुपमा रहेका होर्डिङ बोर्ड समेत हटाउने बताए ।
कार्यपालिकाले जिल्लाको प्रवेशद्वारमै रहेका बोर्डहरु हटाएर डिजिटल बोर्ड बनाउने निर्णय गरेको हो । बजारमा बढ्दो सवारी साधनको चापले नागरिकले सास्ती खेप्नुपर्ने भएका कारण नगरपालिकाले पहिलो प्राथमिकता ट्राफिक व्यवस्थापनको एजेण्डा बनाएको हो । बोसेलको समितिका वडा नंं १ का अध्यक्ष जयबहादुर खत्री, वडा नंं ३ का अध्यक्ष सोनी केसी लक्ष्मण र वडा नं. ४ वडा अध्यक्ष कुमार विक्रम क्षेत्री सदस्य रहेका छन । समितिले १० दिनभित्र निजी तथा सरकारी जग्गा खोजी गरेर प्रतिवेदन दिनेछ ।
कार्यपालिका बैठकले विभिन्न विषयगत समिति गठन गरी जिम्मेवारी समेत तोकेको छ । आर्थिक विकास समितिको संयोजकमा वडा नं.१३ का अध्यक्ष नारायण शर्मा पौडेल, सामाजिक विकास समितिको संयोजकमा वडा नं. ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, पुर्वाधार विकास समितिको संयोजकमा वडा नं.८ का अध्यक्ष छमबहादुर कार्की, वन तथा वातावरण विपद व्यवस्थापन समितिमा वडा न. ९ का अध्यक्ष राजु थापा र सुसासन तथा संस्थागत विकास समितिको संयोजकमा वडा नं. ४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीलाई जिम्मेवारी दिइएको श्रेष्ठले जानकारी दिए ।
बैठकले आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेटकालागि छलफल भएको एक वडा अध्यक्षले जानकारी दिए । असार १० गते भित्र नगरपालिकामा नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने प्रावधान छ । ‘तत्काल गर्नुपर्ने कामको तालिका बनाएर सबैजना काममा खटिएका छौं’ वडानंं ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘बैठकले नयाँ सडक खोल्ने भन्दा स्तरउन्नतीमा ध्यान दिने निर्णय गरेको छ । ’ नयाँ सडक बनाउनु परे मापदण्ड पालना गर्ने र वडा तहको निर्णय तथा इन्जिनियरले उपयुक्त ठहर गर्नु पर्ने प्रावधान बनाइएको उनले बताए ।
यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाइमा बागलुङ नगरपालिका, बागलुङ उद्योग बाणिज्य संघ र सरोकारवालाको बैठकले पनि ट्राफिक व्यवस्थापन चुस्त बनाउने र उपयुक्त पार्किङ स्थल छनौट गर्ने निर्णय गरेको थियो ।





