बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नवनिर्वाचित जनप्रतिनिधिहरुको दायित्व

नवनिर्वाचित जनप्रतिनिधिहरुको दायित्व


  • Dhorpatan News
  • जेष्ठ १२ २०७९, बिहिबार

केही ठाउँबाहेक स्थानीय निर्वाचन २०७९ को परिणाम सार्वजनिक भइसकेको छ । पदवहालीसँगै जनप्रतिनिधिहरु काममा लागिसकेका छन् । जनताले आफ्नो मतमार्फत् चुनेका प्रतिनिधिहरुको वास्तविक परीक्षा अब सुरु भएको छ । यो निर्वाचन अन्यभन्दा विशेष रह्यो । तुलनात्मक रुपमा यो निर्वाचन शान्तिपूर्ण रह्यो । जनताले अहंकार पाल्ने दलका उम्मेदवारभन्दा एजेण्डासहित मैदानमा आएका स्वतन्त्र उम्मेदवारलाई जिताएर ठूलो राजनीतिक सन्देश दिएका छन् । काठमाडौं,धरान,धनगढीमा जसरी स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरे,त्यसले राजनीतिक दलहरुलाई झस्काइदिएको छ । जनता जनार्दन हुन् र उनीहरु राजनीतिक दलका कार्यकर्तामात्रै हैनन् भन्ने पुष्टि भएको छ । पुराना दलहरु सच्चिएनन् भने आउँदा दिन अझ गाहो हुने ती ठाउँका परिणामले दिएको सन्देश हो । अर्कोतर्फ, जनअपेक्षा अनुरुप काम नगर्ने उम्मेदवारहरु दण्डित पनि भएका छन् । पुनः उही पदमा दोहोरिन खोजेका अधिकांशको पराजय भनेको जनताले दिएको दण्ड नै हो । यी दुई तथ्यलाई आत्मसाथ नगर्दा के हुन्छ भन्ने अहिलेका जनप्रतिनिधिहरुले मनन गर्नुपर्ने भएको छ ।

सत्ता सेवाको पर्याय हो । देश र जनताको सेवा गर्छु भन्ने भावनाले नै सत्तामा जाने हो । जनमतसहित सत्तामा पुगेपछि जनतालाई बिर्सन पाइँदैन । सत्ताको शक्तिमा मैमत्त हुनेहरुलाई जनताले दण्डित त गर्छन् नै कानूनले पनि छाड्दैन । अत ः नयाँ जनप्रतिनिधिहरुले सेवालाई मूलमन्त्र ठान्नुपर्छ । संघीयतापछिको दोस्रो निर्वाचनले स्थानीय तहलाई अझ सदृढ ढंगले अगाडि बढ्ने अवसर सिर्जना गराएको छ । स्थानीय तह लोकतन्त्रको आधार स्तम्भ हुो । यो बलियो हुनैपर्छ । संविधानले स्थानीय तहलाई यथेष्ट अधिकार दिएको छ । अघिल्ला जनप्रतिनिधिहरुले कतिपय अवस्थामा संघ र प्रदेशले अधिकार नदिएर र कतिपय अवस्थामा अनुभवको कमीले ती सबै अधिकार प्रयोगमा ल्याउन सकेनन् । आउँदा दिनमा सबै अधिकारको उपयोग गरिनुपर्छ । अर्कोतर्फ, नजिकको सरकारसँग नागरिकका अपेक्षा धेरै हुन्छन् । जनताले गुहार्ने नजिकको सरकारलाई नै हो । जनप्रतिनिधिहरु सदैव जनतासँगै हुनुपर्छ । उनीहरुका समस्या समाधानमा जुटनुपर्छ । स्थानीय तहको आवश्यकता स्थानीयलाई नै जानकारी हुन्छ । स्थानीय आवश्यकता अनुरुपको विकास निर्माणमा योजना, स्रोतको सदुपयोग,रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणको गहनत्म जिम्मेवारी पनि जनप्रतिनिधिहरुले नै पूरा गर्नुपर्छ । मुख्य कुरा भनेको सुशासन नै हो । सुशासनलाई मूलमन्त्र बनाए प्रतिनिधिको कार्यकाल आफै सफल हुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->