पर्वत/ पर्वतको कुश्मा नगरपालिका–१ पाङले नवनिर्वाचित जनप्रतिनिधिको स्वागत र निवर्तमान जनप्रतिनिधिलाई विदाई गरेको छ । बुधबार वडा कार्यालयमा आयोजीत एक समारोहका बीच स्वागत तथा बिदाई गरिएको हो ।
कार्यक्रममा बोल्दै निवर्मान वडा अध्यक्ष देवेन्द्र सुवेदीले पाङको बिकासका लागि आफ्नो कार्यकालमा सुरुवात भएका कतिपय काम पुरा भैनसकेको भन्दै निरन्तरता दिन आग्रह गरे । नव निर्वाचित वडा अध्यक्ष खगेन्द्र पौडेलले पाङबासीले महशुस गर्नेगरी काम गर्ने उल्लेख गरे । निर्वाचनमा राजनीतिक दलको प्रतिनिधिका रुपमा उपस्थित भए पनि अब सबै पाङबासीको साझा वडाअध्यक्ष भएर काम गर्ने अभिभारा आफ्नो काँदमा आएको बताए । कार्यक्रममा निवर्तमान जनप्रतिनिधिले जनताका हरेक दिनका काम र समस्या सम्झना गर्न भन्दै डायरी उपहार दिएका थिए ।
कुश्मा नगरपालिकाकै सबैभन्दा ठुलो वडामा पाँच बर्षमा भएका कामको बिषयमा समेत कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रम सञ्चालन वडा सचिव रामचन्द्र चापागाईले गरेका थिए । नयाँ र पुराना जनप्रतिनिधिलाई खादा मालाले स्वागत तथा बिदाई गरिको थियो ।





