बागलुङ/ चालु आर्थिक वर्षमा जैमिनी नगरपालिका–८ ढुसमा सडक बनाउन विनियोजन भएको बजेट कार्यान्वयनका लागि सम्झौता गर्न उपभोक्ता समितिका अध्यक्षलाई तीन दिन समय लाग्यो । कच्ची सडकमा हरेक दिन आउँदा जाँदा झण्डै एक हजार रुपैयाँ खर्चेर उपभोक्ता समितिका अध्यक्ष पुर्ण बहादुर शेरभुजा तीन दिनसम्म पालिका मुकाम कुश्मीशेरा धाए ।
सम्झौताका लागि आवश्यक प्रक्रिया र कागजातको विषयमा जानकारी नहुँदा शेरभुजाले व्यक्तिगत खर्चमा लामो समय लगाएर सडक निर्माणको योजनाको सम्झौता गर्नुपर्यो । पटक पटक पालिका पुगेका उनले कहिले के कागज नपुगेको भनेर फर्किनु पर्यो त कहिले प्रक्रियाका बिषयमा प्रश्नहरु आए । यसअघि उनलाई कसैले पनि योजना सम्झौता गर्दा आवश्यक प्रक्रिया र कागजातको बिषयमा जानकारी गराएको थिएन् । उनले झण्डै चार दिन खर्चेर योजना सम्झौता र पहिलो किस्ताको रकम बुझेको दुई महिना मात्रै भएको छ ।
जैमिनी नगरले बिनियोजन गरेका योजनमा झण्झट व्यहोर्ने पुरण एक्ला व्यक्ति होईनन् । योजना सम्झौता र फरफारकको बिषयमा आधारभुत ज्ञानसमेत नभएकाले यहाँका उपभोक्ताले कयौं पटक समस्या भोग्दै आएका छन् । हरेक बर्ष सञ्चालन हुने योजनामा प्रायः पुरानै उपभोक्ता समितिका पदाधिकारी दोहोरिने भएकाले समस्या नभए पनि नयाँ उपभोक्ता समितिले यस्तो समस्या भोग्दै आएका थिए ।
शेरभुजा जस्तै उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीको समस्या अब जैमिनीमा दोहोरिने छैन् । यस्तै गुनासाको चाङ लागेपछि जैमिनीले सहायता कक्ष स्थापना गरेको छ । नवनिर्वाचित नगरप्रमुखले पदभार ग्रहण गर्दाका दिन पहिलो निर्णय गरेको नागरिक सहायता कक्ष स्थापना कार्यान्वयनमा आईसकेको छ । यो सहायता केन्द्रले अब आम उपभोक्तालाई सहयोग गर्ने छ ।
पालिकामा आउने सेवाग्राहीहरुलाई सहज बनाउनको लागि नागरिक सहायता कक्ष स्थापना गरिएको जैमिनीका नगरप्रमुख नरबहादुर पुनले जानकारी दिए । कुनैपनि सरकारी कार्यलयमा छिटोछरितो रुपमा सेवा पाउने नागरिकहरुको अधिकारलाई सुनिश्चित गर्न सहायता कक्षको स्थापना गरिएको उनको भनाई छ । उनले नागरिकको गुनासो सुनेकै आधारमा पहिलो प्राथमिकतामा नागरिक सहायता कक्ष परेको बताए ।
नागरिक सहायता कक्षबाट सेवाग्राहीहरुले निवेदनका ढाँचाहरु, आवश्यक कागजातहरु लगाएतका विषयमा जानकारी लिन सक्नेछन् भने आवश्यक सहयोग पाउनेछन् । नगरपालिकाको कुनैपनि काम गर्न आउने सेवाग्राहीहरु त्यसै फर्किन नपरो भन्ने तरिकाबाट नागरिक सहायता कक्षलाई व्यवस्थित गर्दै लैजाने जैमिनीका नगर उप–प्रमुख हरिहर शर्माले बताए । सेवा लिन आउँदा सेवाग्राहीहरुले सहायता कक्षमा पुगेर आवश्यक सहयोग लिन र कागजातहरुको नमूना प्राप्त गर्न सक्ने उनको भनाई छ ।
जैमिनीका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले पेश गरेको १० राङ्खानीका जीवन श्रीसको बार्षिक कार्यक्रम अन्तरगत व्याडमिन्टन कोर्ट निर्माणको योजनाको फाइल नगर प्रमुख पुनले सदर गरेर नागरिक सहायता कक्षको उद्घाटन गरिएको थियो ।





