पर्यटनको राजधानी भनेर चिनिने गण्डकी प्रदेश यतीबेला शोकमग्न छ । पोखराबाट मुस्ताङका लागि यात्रु बोकेर उडेको तारा एयरको ९एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मानापाथी हिमालको फेदीमा दुर्घटना भएपछि नेपालको नागरिक उड्यन क्षेत्र, पर्यटन क्षेत्र र सिंगो देशलाई शोकमा डुबाएको छ । १९ जना यात्रु, चालक दलका तीन जना सदस्यसहित उडेको जहाज नत उडेको ठाउँमा फर्किनसक्यो, नत गन्तव्य भेटायो । साविकको बाटोभन्दा केही पर पुगेर माटोको पहाडमा ठोकिएको जहाज टुक्रा टुक्रा भएको छ । जहाजमा सवार १४ जनाको शव सुरक्षाकर्मी लगायत उद्धारमा खटिएकाहरुले भेटेको भएपनि बाँकी ८ जनाको अवस्था अझै अज्ञात छ । जहाज दुर्घटनामा भएको क्षतिको विवरण संकलन र उद्धारको काम चलिरहेकाले जहाज दुर्घटनाको कारण खोजी गर्ने बेला भैसकेको छैन होला तर यती धेरै मानवीय क्षति हुने गरी हवाई क्षेत्रमा भएको दुर्घटनाको बिषयमा कोही पनि चुपचाप बस्न सक्दैन् ।
जहाज यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो, समय तालिका अनुसार जहाज बिहान १० बजेर १५ मिनेटमा मुस्ताङ पुगिसक्नुपर्ने थियो । तर त्यसो हुन सकेन् । बिहानकै समयमा दुई पटक उडान भरिसकेका परिपक्क पाईलट प्रभाकर प्रसाद घिमिरेले जहाज उडाएका थिए । युवा पुस्ताका जुजारु पाईलट उत्सव पोखरेल क्याविनमै थिए । जहाज सम्पर्कमा नरहेको खबर बिहान साढे दश बजे सञ्चार माध्यामहरुमा आयो । बिभिन्न तरिकाबाट खोजी त सुरु भयो तर आइतबरका लागि सबै प्रयासहरु बिफल भए । जहाज दुर्घटनाको आशंका नागरिक उड्यन, तारा एयर, नेपाल सरकरकारका सुरक्षा निकाय र आम नागरिक सबैले गरेकै बिषय थियो । मुस्ताङका बिभिन्न भागबाट आएका खबरहरुको आधिकारिकता पुष्टि समयमा हुन नसक्नु, जहाजको राडरले देखाएको बाटो समात्न नसक्नु र राज्यको उद्धारमा खटिने निकाय तयार नरहनुले जहाज दुर्घटना जस्तो गम्भिर घटनामा समेत उद्धारका लागि २४ घण्टा बढी समय लाग्नु दुर्भाग्य हो । दुर्घटना आफैमा दुर्भाग्य हो त्यसमाथी दुर्घटना पछिको उद्धार बिलम्व हुनु अर्को दुर्भाग्य हो । मुस्ताङको मौसम, भुगोल र अवस्थिती सरोकारवालाका लागि उम्किने बाटो बन्लान तर यो नयाँ घटना भने होईन् ।
नेपालमा हवाई दुर्घटनाको लामो इतिहास छ । नेपालमा पहिलो विमान दुर्घटना वि.सं. २०१२ मा भएको थियो । कालिंगा एयरको यो दुर्घटनामा २ जनाको निधन भएको थियो । त्यस्तै वि.सं. २०१३ साल जेठ १३ मा अर्को दुर्घटना भयो । इन्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको दुःखद निधन भएको थियो । त्यसपछि साना–ठूला दुर्घटनाहरु थपिंदै गए । २०७४ फागुन २८ गते बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भएको घटनामा देखिएको उद्धारको प्रक्रिया होस् वा मुस्ताङमा तारा एयर दुर्घटनापछि उद्धारमा देखिएको समस्या सरकोरवालाको हेलचक्राईं, गैर जिम्मेबारी प्रष्ट हुन्छ । मुस्ताङकै लागि छुटेको तारा एयरको यस अघीको पनि दुर्भाग्य पूर्ण घटना छ । २०७२ फागुन १२ गते तारा एयरको म्याग्दीमा दुर्घटना भएको थियो । विमानमा सवार २३ जना यात्रीहरुको निधन भएको थियो । यि घटनाबाट पाठ सिक्दै दुर्घटनाका कारणहरुको खोजी गर्ने, दोहोरीन नदिने र दुर्घटना भैहालेमा तत्काल उद्धार तथा राहतका लागि सबै संयन्त्रहरु तयार राख्नु नेपाली वायुसेवाका क्षेत्रमा आवश्यक कदम हो । यसमा सरकोरवाला सबैको ध्यान जाओस् ।
