बागलुङ/ निर्माण सकिएको एक बर्ष बितिसक्दा पनि बागलुङ बसपार्क संचालनमा आउने सुरसार छैन । न त यहाँका बासिन्दाले दिएको जग्गालाई सम्याएर घडेरी बितरणको काम भएको छ ।
ठेकेदार कम्पनीले पटक पटक म्याद थपेर एक बर्षअघि बसपार्क बनाएको थियो । बनेको बसपार्कमा राम्रो नाली भने छैन । सोझै पानी बगेर जाने गरी बनाएकोले नाली नचाहिएको प्राविधिकले बताउने गर्थे । तर अहिले पानी पर्दा जलमग्न हुने गरेको छ । बसपार्क बनेपनि यहाँ जाने सडक बनेको छैन ।
बागलुङ बसपार्क बनाउ स्थानीय मानिसले बर्षौ अघिदेखि आफ्नो जग्गा सहयोग गरेका थिए । तर अहिलेसम्म जग्गा बेच्न समेत नपाएर समस्यामा परेका छन् । बस, जिप र ट्यांक्सी पार्क गर्नुपर्ने स्थानमा यतिबेला पशुबस्तु र मानिसहरुको जमघट भैरहेपनि निर्माण गरेर संचालनमा ल्याउने काममा चासो नभएको स्थानीय सुवास केसीले बताए । नगर बिकास कोषको ११ करोड रुपैयाँ लगानीमा बसपार्क निर्माण भएको हो ।
बागलुङ नगरपालिका–४ मा रहेको यो बसपार्क बनाउन स्थानीयले निशुल्क जग्गा दिएका थिए । जग्गा दिएका उपभोक्ताले कम्तिमा एकएकवटा घडेरी समेत पाउने शर्त थियो । उक्त शर्त समेत अझै पुरा भएको छैन । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने बसपार्क बारे नयाँ जनप्रतिनिधिले छलफल गरिनसकेको बताए । ‘धेरैको चासो त छ, हामीले छलफलमा गइसकेका छैनौं’ खड्काले भने, ‘प्राविधिक रुपमा के कस्तो भएको हो बुझेर मात्रै निर्णयमा जान सकिएला ।’
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बसपार्क संचालनबारे स्थानीय जनता र जनप्रतिनिधिसहित सरोकारवालासँग परामर्श थालेको बताए । नगरपालिकाका अनुसार बसपार्कमा ८० वटा बस राख्न सकिने पूर्वाधार बनेको छ ।
झण्डै ५२ रोपनी जमिन सम्याएपछि १७ रोपनीको बसपार्क बनेको छ । बाँकी जमिन उपभोक्तालाइ एकएक घडेरी दिने शर्त छ । ‘शर्त गरेको बर्षौ भयो, जग्गा किनबेच पनि गर्न नपाइने, घडेरी पनि नपाउने अबस्था भयो’ स्थानीय नन्दलाल सापकोटाले भने, ‘न बसपार्क चल्छ, न हामीले घडेरी सम्याउन पायौं ।’ उनले नगरपालिकाको लापरबाहीबाट उपभोक्ताहरु मरमा परेको बताए ।
उपभोक्ताले घडेरी बेच्न पनि नपाएपछि कतिपय काममा ऋण खोजेर गरेको बताए । बागलुङ नगरपालिकाले भने बजार क्षेत्रको अव्यवस्थित पार्क व्यवस्थापनका लागि तयारी गरेको छ । उक्त तयारीअन्र्तगन जग्गा खोजेर पार्कलाई व्यवस्थापन गर्ने भनिएपनि बसपार्क संचालनबारे समेत चासो राखिएको एक जनप्रतिनिधिले बताए ।





