बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘प्याकेजिङ’ खाद्यबस्तु बारे विद्यालयमा सचेतना

‘प्याकेजिङ’ खाद्यबस्तु बारे विद्यालयमा सचेतना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७९, शुक्रबार

बागलुङ/ जिल्लामा विद्यालय उमेरका बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यबस्तुबाट पर्ने दिर्घकालीन असरको बिषयमा सचेत बनाईने भएको छ । विद्यालयहरुमा पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्य वस्तुहरुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी गराईने भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले आउँदो जेठ २४ गते मनाइने चौधौं खाद्य स्वच्छता दिवसको अबसरमा आयोजित विविध कार्यक्रमअन्र्तगत विद्यालय तहका विद्यार्थीहरुलाई ‘प्याकेजिङ’ गरिएका खाद्यबस्तु सम्बन्धि सचेतनालाई प्राथमिकतामा राखेको हो । ‘स्वच्छता सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाउन लागिएको दिवसमा उपभोक्ताको खाद्य स्वच्छता सम्बन्धि अधिकार प्रत्याभूतिका लागि बालबालिकालाई सचेत गराउन थालिएको डिभिजन प्रमुख सौरभ श्रेष्ठले बताए ।

‘हामीले यसअघि पनि सदरमुकामा रहेका केही विद्यालयहरुमा खाद्य स्वच्छतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरीसकेका छौं’, उनले भने ‘विद्यालयको वातावरण हेरेर दिवसको अवसरमा केही विद्यालयहरुका बालबालिकामा सचेतनामुलक कार्यक्रम लैजाने यस पटकको योजना छ ।’ बालबालिकालाई सचेत गराउँदा भावी पुस्तामा खाद्य स्वच्छता सम्बन्धि चेतनाको विकास हुने र वर्तमानमा अस्वस्थ्य खाद्यान्नको प्रयोगमा कमी आउने उनको बुझाई छ ।

विद्यालयहरुमा दिवा खाजाको रुपमा प्रयोग हुने ‘प्याकेजिङ’ खानाहरुको लेबल तथा म्याद र त्यसमा प्रयोग भएका खाद्यबस्तुको विषयमा जानकारीको अभावमा
बालबालिकाले अखाद्य वस्तु प्रयोग गरिरहेका कतिपय घटनाहरु बेला बेलामा बाहिरीने गरेका छन् ।

सरकारले कक्षा ५ सम्मका बालबालिकाका लागि दिवा खाजाको व्यवस्था गरेको भएपनि बागलुङका अधिकांश विद्यालयले विद्यालयमा खाजाको व्यवस्था नगरी प्रतिविद्यार्थी खाजा बापत प्राप्त हुने रकम अभिभावकको जिम्मा लगाउने गरेका छन् ।

डिभिजन कार्यालयले जेठ १९ गतेदेखि बिभिन्न कार्यक्रमहरुको आयोजना गरेर खाद्य स्वच्छता दिवस मनाईरहेको छ । सप्ताहअन्र्तगत विद्यालयमा सचेतना कार्यक्रमका साथै होटल तथा रेष्टुरेन्टहरु अनुगमन गर्ने, बजार तथा खाद्य उद्योग अनुगमन गर्ने खाद्यान्नमा प्रयोग हुने रंगहरुको विषयमा सचेनतामुलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए ।

खाद्य स्वच्छता सम्बन्धि बिभिन्न जानकारीहरु समेटिएका प्रचार सामग्रीहरु कार्यालय परिसर तथा मानिसहरुको आवतजावत बढी हुने ठाउँहरुमा राख्न थालिएको छ । दिवस मनाउनका लागि डिभिजन कार्यालयले आम सर्वसाधारणलाई स्वच्छ खाद्यबस्तु प्रयोग गर्न पाउने उपभोक्ताको अधिकारप्रति सचेत रहनेगरी सप्ताहव्यापी कार्यक्रममा सहभागि हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->