बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

किसानलाई प्रोत्साहित गर

किसानलाई प्रोत्साहित गर


  • Dhorpatan News
  • जेष्ठ २२ २०७९, आइतबार

नेपालमा विभिन्न प्रदर्शनी र मेला आयोजना भइरहन्छन् । मेला र महोत्सवको उद्देश्य आफैमा नराम्रो हुँदैन तर धेरैजसो उद्देश्यमा असफल रहन्छन् । मान्छे बटुल्नु र मनोरञ्जनात्मक कार्यक्रममार्फत् आर्थिक उपार्जन गर्नमै मेला र महोत्सवहरु सीमित हुँदै गएका छन् । तर, यही उपक्रममा पोखरा २० मौजामा एउटा सन्देशमूलक मेला आयोजना गरिएको छ । मेला विशुद्ध किसानको लागि थियो र किसानहरुले मेलामा बाख्रा प्रदर्शन गरेका थिए । पोखरा महानगरको पशु सेवा विभागबाट आयोजित मेलामा उत्कृष्ट माउ र बोकापालक किसानहरु सम्मानित भए । मौजा पोखरा महानगरको पिछडिएको क्षेत्र हो ।

गाउँपालिकाबाट नगरमा रुपान्तरित भएको सो क्षेत्र बाख्रापालनको लागि उपयुक्त रहेको छ । १० वर्षअघिसम्म सो क्षेत्रमा ४–५ सयको हाराहारीमा मात्रै बाख्रा रहेका थिए । किसानहरु व्यावसायिक हुन सकेका थिएनन् । तर, पछिल्लो समय चरन क्षेत्रसमेत रहेको मौजामा बाख्रापालनप्रति किसानहरुको रुचि बढेको छ । बाख्रा नगदे बाली नै हो । बोका बेच्न बजारको समस्या छैन । उन्नत जातका बाख्रालाई व्यावसायिक हिसाबले पाल्न सके यसले राम्रो आम्दानी दिन्छ । किसानहरु आत्मनिर्भर बन्छन् । महानगरले सो क्षेत्रका किसानहरुलाई जसरी प्रोत्साहित गरेको छ, त्यो आफैमा सकारात्मक छ । व्यावसायिक रुपले पशुपालनमा लाग्ने किसानहरुलाई राज्यले विशेष प्रोत्साहन दिनुपर्छ ।
नेपालमा अरबौंको मासु आयात हुन्छ । किसानहरुलाई प्रोत्साहित गर्नसके आयात प्रतिस्थापनको साथै देशमै रोजगारी सिर्जना हुन्छ ।

सरकारले किसानहरुको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । अनुदानका प्याकेज पनि रहेकै छन् । तर, ती कार्यक्रम वास्तविक किसानसम्म अझै पुग्न सकेको छैन । पशु र बाली बिमा गर्न सजिलो छैन । बिमा गरिए पनि भुक्तानीको लागि उस्तै सास्ती छ । खेती गर्नेहरुलाई समयमा मल र बीऊ नपाउने समस्या छ भने पशुपालकहरुलाई औषधि र प्राविधिक सेवा उपलब्ध छैन । सरकारले अहिलेको बजेटमा कृषि क्षेत्रलाई विशेष जोड दिएको छ । बजेटमा भनिएका कुराहरु व्यवहारमा लागू गरिनुपर्छ । किसानलाई प्रोत्साहित गर्ने नीति र बजारको सुनिश्चिता गर्नसके कृषिमा आकर्षण बढ्छ । महानगरले जसरी बाख्रा प्रदर्शनी गरेर किसानलाई प्रोत्साहित गरेको छ, त्यस्ता कार्यक्रम अन्य पालिका र वडाहरुले पनि सिको गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->