‘लामो समय हाम्रा गाईगोरु र बाख्रा चरेको चौरमा जहाज उड्दा कम्ता खुसी लागेको थिएन्’ नारायणस्थानका स्थानीय उमानाथ सिग्देलले भने ‘भाडा केही सस्तो र उडान नियमित भएको भए समस्या हुने नै थिएन् ।’
बागलुङ/ स्थानीय तह निर्वाचन २०७४ सकिँदा साथ चर्चामा आयो बलेवा विमानस्थल । २६ वर्षभन्दा लामो समय गौचरणमा परिणत भएको बिमानस्थल सञ्चालनमा आउने खबरले बलेवाबासी मात्रै होईन साविकको धौलागिरीबासीमा खुसी छाएको थियो ।
बागलुङ नगरपालिकाले बलेवा विमानस्थल सञ्चालन गर्ने एक सुत्रिय माग नागरिक उड्यन प्राधिकरण र सरोकारवाला निकायमा निरन्तर राखेपछि विमानस्थल सञ्चालनमा आयो । जनप्रतिनिधि आएको एक वर्षभित्रै विमानस्थलको सञ्चालनको काम प्रारम्भ भयो । प्राबिधिक हिसाबले विमानस्थल सञ्चालनका लागि नागरिक उड्यन प्राधिकरणले पोखरा विमानस्थलका प्राबिधिकहरुलाई काजमा बलेवा पठयो तर बिमान कम्पनीसँगको सम्झौतामा भने नगरपालिकाले नै गर्नुपर्ने भयो ।
कच्चि धावनमार्ग भएकाले यो बिमानस्थलमा नेपालमा सञ्चालनमा रहेका सबै बिमान कम्पनीका बिमान आउन सक्ने कुरै थिएन् । देशका कठिन भुगोलमा कच्चि धावनमार्गमा उडान भरिरहेका नेपाल एयरलायन्स र तारा एयरलायन्स उडानका लागि तयार भए । यात्रुको संख्या पुगेमा नगरको दायित्व नरहने र यात्रुको संख्या नपुगेमा नगरपालिकाले अपुग यात्रुको भाडा सोधभर्ना गर्नेगरी सञ्चालनमा आएका विमानहरु एक वर्षभन्दा टिकेनन् ।
‘हामीले जोखिम मोलेर विमानस्थल चलाएका थियौं, त्यसको फाईदा धावनमार्ग पक्कि भएर नियमित उडानका लागि तयार भएको छ’ निवर्तमान नगरप्रमुख जनकराज पौडेल भन्छन् ‘नियमित उडानका लागि सिमित बिमान कम्पनी मात्रै चल्नसक्ने भएकाले कठिन भएको थियो, यात्रुको भाडासमेत व्यहोरेर एक वर्ष विमानस्थल सञ्चालन गरेको नगरकै पहलमा अहिले बलेवा विमानस्थल कालोपत्रे भएको छ ।’
नगरपालिकाले सोधभर्नामा मात्रै २० लाख खर्चेको तथ्यांक छ । भाडा दर महंगो र उडान तालिका नियमित नहुँदा यात्रु संख्या निकै कम भएपछि तीन वर्षअघि पुनः बन्द भएको विमानस्थलमा नियमित उडानको चर्चा फेरी सुरु भएको छ । पहिलो कार्यकालका जनप्रतिनिधिले प्राथमिकतामा राखेको विमानस्थल यसपटक नवनिर्वाचित जनप्रतिनिधिको पनि प्राथमिकतामा परेको हो । तर विमानस्थलको अवस्था पहिलेको जस्तो छैन् ।
‘लामो समय हाम्रा गाईगोरु र बाख्रा चरेको चौरमा जहाज उड्दा कम्ता खुसी लागेको थिएन्’ नारायणस्थानका स्थानीय उमानाथ सिग्देलले भने ‘भाडा केही सस्तो र उडान नियमित भएको भए समस्या हुने नै थिएन् ।’
धावनमार्ग कालोपत्रे भएकाले बलेवा विमानस्थल नियमित चल्नेमा सर्वसाधारण आशावादी छन् । नागरिक उड्यन प्राधिकरणले तीन वर्ष समय लगाएर झण्डै साढे आठ करोड धावनमार्ग कालोपत्रेमा खर्चेको छ । ‘अब पनि पहिलेका जस्तो जहाज चलेन भने हाम्रो आशा मर्छ, सरकारको खर्च पानीमा मिसिन्छ’ सिग्देल भन्छन् ‘यहाँ नभएका केही पूर्वाधार बनाएरै भएपनि जहाज चलाउनु पर्छ, अब यात्रुकै कारण जहाज रित्तै फर्किनु पर्दैन् ।’
विमानस्थल सञ्चालनका लागि जनप्रतिनिधिसँगै नागरिक उड्यन प्राधिकरणले पनि पहल थालेकाले नागरिकमा आशा पलाएको हो । बन्द अवस्थामा रहेको विमानस्थलको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले आइतबार बलेवा विमानस्थलको अवलोकन गरेको छ । भर्खर कालोपत्रे भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ ।
विमानस्थल सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता सशक्ति करण र दिगो विकास मञ्चका प्रमुख डा. जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा आउन सक्ने बताए । सरकारले कराडौँ खर्च गरेर बनाएको विमानस्थल प्रयोगबिहीन हुन नदिन नगरपालिकाले पनि पहल गरिरहनुपर्ने उनले बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका शाहले विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थितिमा पनि वैकल्पिक प्रयोगको योजना पनि बनाउनुपर्ने धारणा राखे । छलफलका क्रममा सुझाव राख्दै बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले हरहालतमा विमानस्थल चलाउनुपर्ने बताए ।
बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले विमानस्थल नियमित सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्ने बताए । उनले यसअघि २०७४ मा विमानस्थल सञ्चालनमा आउँदा यात्रुबाट भाडादर चर्को भएको गुनासो आएको उल्लेख गरे ।
बागलुङको मालढुंगादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १३ किमी सडक अहिले पनि कच्ची छ । वर्षात्का बेला त उक्त सडकको यात्रा झन् जोखिमपूर्ण बन्ने गरेको छ । सरकारले सो खण्ड कालोपत्रेका लागि ठेक्का प्रक्रियामा लगेपनि काम सकिन केही वर्ष लाग्ने देखिएको छ । सरकारको आगामी आर्थिक बर्षको बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ । बन्द भएको २६ वर्षपछि २०७४ चैत ९ गतेदेखि बलेवा विमानस्थल सञ्चालनमा ल्याइएको थियो ।
नेपाल र तारा एयरलाइन्सको टुइनअटर विमानले हप्ताको दुई दिन उडान गर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरले भार व्यहोर्ने गरी नागरिक उड्यन प्राधिकरण, विमान कम्पनी र नगरबीच सम्झौता भएको थियो ।
केही महिनापछि यात्रु पनि घट्ने र नगरलाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको थियो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर ६ हजार ५ सय तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो त्यसबेला गरेका थिए ।
२०४८ मा बन्द भएको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आएपनि त्यसले निरन्तरता पाउन सकेन । २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि बन्द भएको थियो । सडक आउनुअघि बलेवादेखि पोखरा, काठमाडौँ, भैरहवा र भरतपुरसम्म विमान सञ्चालनमा थिए । यात्रुको आउजाउ र सामान ढुवानीका लागि विमान प्रयोग हुन्थ्यो । पूर्वाधारका दृष्टिले विमानस्थल पहिलेभन्दा अहिले धेरै सम्पन्न छ । विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भइसकेको छ ।





