स्वच्छ सन्तुलित आहार,स्वस्थ जीवनको आधार भएकोमा द्धिविधा छैन । स्वच्छ र सन्तुलित आहारकै अभावमा विश्वमा २ सयभन्दा बढी रोग लाग्ने गरेको छ । पछिल्लो समय दूषित खानाको मात्रा बढ्दै गएको छ । खाद्य स्वच्छताको जति कुरा गरे पनि विषादी हालिएको र मानव स्वास्थ्यलाई प्रतिकूल असर पर्ने खाद्यान्नहरुको बिगबिगी छ । आहार– विहारकै कारण विभिन्न असाध्य रोगहरुको संक्रमण बढेको छ । विश्वमा हरेक वर्ष ४ लाखभन्दा बढीको दूषित खानाले ज्यान लिइरहेको छ ।
तरकारी,फलफूल,मासुलगायत बजारमा पाइने तयारी खाद्यान्नमा मानव शरीरलाई प्रतिकूल असर पार्ने रसायनहरु प्रयोग भएको पाइएको छ । पछिल्लो समय बजारमा प्राङ्गारिक खाद्यान्नभन्दा विषादी मिसाइका खाद्यान्नको बढ्दो विषादी प्रयोगले मानव जीवन नै संकटमा परेको छ । तर यति हुँदा पनि विषादी प्रयोगमा कमी ल्याउन,परीक्षणको दायरा बढाउन एवं स्वस्थ खाना प्रवद्र्धनमा राज्यले उचित ध्यान दिन सकेको छैन । गण्डकी प्रदेशमा हालसम्म खाद्य प्रयोगशाला छैन ।
प्रदेश छिर्ने नाकामा विषादी परीक्षण केन्द्र स्थापना गरिए पनि प्रभावकारी बन्न सकेको छैन । बजारमा छ्यापछ्याप्ती अखाद्य पदार्थहरु भेटिन छाडेका छैनन् । खाद्य पदार्थको गुणस्तर मापन नै भएको छैन । यसले गर्दा कुन खानेकुरा विषाक्त छ र कुन छैन भन्ने पत्ता लगाउन सकिएको छैन । जनशक्तिको अभाव त्यस्तै छ । गण्डकीले बल्ल प्रयोगशाला निर्माणको पहल थालेको छ । प्रयोगशाला निर्माणपछि खानेतेलको गुणस्तर मापनसँगै गुणस्तर मापन हुने आशा गर्न सकिन्छ ।
मानव जीवनसँग जोडिएको खाद्य सुरक्षा राज्यको दायित्व हो । राज्यले खाद्य सुरक्षामा विशेष ध्यान दिनैपर्छ । विषादीरहीत खाद्य उत्पादन गर्ने किसानहरुलाई प्रोत्साहन, सचेतनाका कार्यक्रम संचालन गरिनुपर्छ भने गलत गर्नेहरुलाई कडा कारवाही गरिनुपर्छ । बजार अनुगमन प्रभावकारी बनाउनु त छँदैछ । तर, यतिले मात्रै पुग्दैन । उपभोक्ता स्वयं सचेत हुनुपर्छ र स्वस्थ खानेकुरा उपभोग गर्ने बानीको विकास गर्नुपर्छ ।
