बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाढी पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

बाढी पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७९, बिहिबार

बागलुङ/ बर्षासँगै आएको बाढीका कारण पहिरो खस्दा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको घोडाबाँधे गलकोट खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बुधबार साँझ गलकोट क्षेत्रमा भीषण बर्षा पछि लोकमार्गको उक्त खण्डमा दर्जन बढी पहिरो खसेका छन् । लोकमार्ग अबरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी आवागमन रोकिएको छभने सर्वसाधारणलाई पैदल यात्रा गर्न समेत कठिन भएको स्थानीयले बताए ।

बागलुङको गलकोट, बुर्तिबाङ, खर्वाङदेखि काठमाण्डौ, पोखरा लगायतका शहरमा जाने लामो दुरीका सवारीसाधन रोकिएका छन् । गलकोट, ढोरपाटन नगरपालिका र ताराखोला, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाबाट सदरमुकाम आउने सबै सवारी साधन गलकोटमा नै रोकिएका छन् ।

काठमाण्डौ पोखरा लगायतका ठाउँबाट रुकुम पूर्वका लागि समेत छुटेका सवारी घोडाबाँधेमा रोकिएको प्रहरीले जनाएको छ । बाढी पहिरोले सडक क्षतविक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए ।

त्यस्तै बाढी र पहिरोका कारण गलकोटको नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका-२ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडा अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिए ।

बुधवार साँझदेखि रातभर परेको भिषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाई छ । बाढीको त्रासले स्थानीय रातभर जागराम बसेका छन् । नकटेखोलाको कटानले तटिय क्षेत्रका घरहरु समेत जोखिममा परेको उनले बताए ।

बाढीले महेन्द्र माविको खेल मैदान पुरिएको र विद्यालय समेत जोखिममा परेको उनले बताए । रातभर स्थानीय र मेसिनको प्रयोग गरि बाढी तर्काउने कोसिस गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->