पोखराका मेयर धनराज आचार्यले केही देखिने र सुनिने कामको थालनी गरेका छन् । मेयरमा निर्वाचित भएलगत्तै उनले पोखराको समस्याको रुपमा रहेको ल्याडफिल साइट स्थान्तरण गर्ने,पोखराको सिटी बसपार्क निर्माण गर्ने प्रतिवद्दता जनाएका छन् । बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइटको आयू सकिएको छ । ल्याण्डफिल साइट त्यहाँ रहेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउन सकिँदैन । ल्याण्डफिल साइटमा आश्रित पंक्षीहरुका कारण हवाइ उडान असुरक्षित हुने भन्दै हवाइ विभागले धेरै अगाडि नै महानगरसँग ल्याण्डफिल साइट सारिदिन अनुरोध गरेको थियो । तर, ठाउँ खोज्जाखोज्दै महानगरको अघिल्लो नेतृत्वले त्यो विषय टुंग्याउन सकेन ।
अहिलेका मेयर आचार्यले वडा नम्बर ३३ मा ल्याडफिल साइट बनाउने योजना अगाडि सारेका छन् । उनले योजना अगाडि सारेसँगै स्थानीय जनताले असन्तुष्टि जनाएका छन् । महानगरको फोहर फाल्ने ठाउँ खोज्नैपर्छ । मेरो क्षेत्रमा फोहर फाल्न हुँदैन भन्ने आवाज व्यक्तिगत रुपले सहीजस्तो लागे पनि विकास निर्माणमा अवरोध सिर्जना गर्नुलाई राम्रो मान्न सकिँदैन । फोहरका कारण सो क्षेत्र प्रताडीत बन्नु हुँदैन भन्नेमा दुई मत छैन । फोहर फाल्दा नागरिकको स्वास्थ्य,पर्यावरणीय सुुुरक्षा र सो क्षेत्रको सन्तुलित विकासमा विशेष ध्यान दिनुपर्छ । नागरिकलाई खुसी बनाएरै फोहर फाल्ने हो । यो काममा त्यहाँका जनताले मेयरलाई सघाउनुपर्छ ।
रह्यो, पोखरा बसपार्कको कुरा । पोखराको विजोग र अव्यवस्थाको पर्याय हो, पोखरा बसपार्क । पोखरा भित्रनासाथ पृथ्वीचोकको हिलो र धूलोले आम मान्छेमा पोखराप्रतिको सोच परिवर्तन गराउँछ । ३० को दशकमा अधिग्रहण गरिएको जग्गा भेंडाको मासु बनेको छ । अव्यस्थित बसोबासले निर्माणाधीन बसपार्कको जग्गा खुम्चिएको छ । पोखरालाई कुरुप देखाउने बसपार्क जुनसुकै हालतमा पनि बनाउनुपर्ने छ । हिजोकोजस्तो त्यो बसपार्कले अबको आवश्यता धान्दैन । पृथ्वीचोकमा बनाउने भनेकै सिटी बसपार्क हो । अर्को बसपार्क लामेआहालमा बनाउने योजना छ । त्यतातर्फ पनि मेयरले ध्यान दिनुपर्छ ।
प्रदेशका भौतिक योजनामन्त्री, मेयर र वडा नम्बर ९ का वडाध्यक्षसहितको टोलीले बसपार्कमा केही सुधारका कामको थालनी गर्दै ३ वर्षभित्र बसपार्क बनाउने जुन उद्घोष गरिएको छ,यसले आशा जगाएको छ । पोखरालाई सुन्दर बनाउने यो अभियानलाई पनि नागरिकस्तरबाट सघाउनैपर्छ । सडकका खाल्डाखुल्डी पुर्ने र अझ ३ दिनभित्रै मर्मत गर्ने,छाडा चौपाय व्यवस्थापन एवं प्रविधिमैत्री सेवाजस्ता घोषणाले पनि नागरिक उत्साहित छन् । मेयरले कामको यो गति छाड्नु हुँदैन भने नागरिकले रचनात्मक सहयोग र साथ दिनुपर्छ ।
