बागलुङ/ एक महिनादेखि धमिलो पानी आएपछि बागलुङका उपभोक्ताले तत्काल शुद्ध पानी दिनुपर्ने माग गरेका छन् । उनीहरुले नगर खानेपानी सरसफाइ तथा उपभोक्ता समिति, बागलुङ नगरपालिका र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराएका छन् ।
उनीहरुले ती संस्थामा ज्ञापन पत्र बुझाउनुको साथै सयौं उपभोक्ताको हस्ताक्षर पनि बुझाएका हुन् । अधिवक्ता बद्रीप्रसाद उपाध्याय, उपभोक्ता टेकबहादुर सार्की, डिल्ली प्रसाद गौतम लगायतको टोलीले सोमबार जिल्ला प्रशासनमा पनि ध्यानाकर्षण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी रमेश ढकाललाई शुद्ध पानी खुवाउन पहल गरिदिन पनि आग्रह गरे ।
गतवर्ष पनि यस्तै समस्या हुँदा प्रशासनको पहलले शुद्ध पानी खुवाउन पहल भएको थियो । उच्च अदालत पोखरा, बागलुङ इजलासले पनि शुद्धपानी खुवाउन उपभोक्ता समिति र नगरपालिकालाई आदेश दिएको थियो । प्रशासनलाई नियमित अनुगमन गरेर शुद्ध पानी आए नआएको प्रतिवेदन दिन भनेको थियो । तर अझैपनि सो सम्बन्धी काम नभएको अधिवक्ता उपाध्यायाले बताए ।
पीडित उपभोक्ताले धमिलो पानीको फोटोसहित प्रशासनमा उपस्थित भएका थिए । त्यस्तै आम नागरिकमा झाडापखाला र छाला सम्बन्धी रोग देखिएर परीक्षण गर्दा प्रदुषित पानीको प्रयोगले भएको भन्दै उपभोक्ता संस्थाले आम नागरिकको स्वास्थ्यमा खेलवाड गरेको पनि उपभोक्ताले आरोप लगाए । ‘आम नागरिकको स्वास्थ्यमा आएको समस्याको जिम्मा लिने की शुद्ध पानी खुवाउने ?’ गौतमले भने, ‘खानेपानीमा चरम लापरबाही भएको छ ।’ बर्षौदेखिको यो समस्या समाधानमा संस्था गैरजिम्मेवार बनेको समेत उनीहरुले आरोप लगाए ।
नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको म्याद समेत सकिएको छ । डेढ बर्ष म्याद सकिंदापनि संस्थाले साधारणसभा गरेको छैन । बरु उपभोक्ताले पानीको समस्या र सास्तीबारे जानकारी गराउन खोज्दा धम्क्याउने काम भएको स्थानीयले गुनासो गरे । लेखा परीक्षण नभएको, हिसाबकिताब सार्वजनिक नगरेको लगायतको आरोप उपभोक्ताले लगाएका छन् ।
‘पानीको पाइपहरु गाडिएको छैन, कतै चुहिने स्थानमा अलपत्रै छाडिएको छ’ बानपा–४ स्थित गौरीधाम शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण केसीले भने, ‘यहाँका वडा नंं. १, २, ३ र ४ का सयौं मानिस पीडित भैरहेपनि संस्थाले जनताको जीवनमा खेलवाड गरेको छ ।’ खानेपानी उपभोक्ता संस्थालाई बोलाएर गतवर्ष नगरपालिकाले पनि शुद्ध पानी खुवाउन दबाव दिएको थियो ।
हरेक बर्ष बाढीपहिरो पसेको भन्दै पन्छिने गरेको उपभोक्ता संस्थाले भएका फिल्टर ट्यांकी सफाइ नगरेको, बितरणमा लापरबाही गरेर खोलाकै पानी पठाएको समेत टिप्पणी गरेका छन् । प्रमुख जिल्ला अधिकारी रमेश ढकालले तत्काल संस्थाका पदाधिकारीलाई झिकाएर छलफल गर्ने र निष्कर्ष निकाल्ने बताए ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पनि पानी शुद्ध खुवाउने बिषयमा गम्भिर भएको बताए । उनले उपभोक्ता समितिको कामप्रति कोही पनि सन्तुष्ट नभएकोले गुनासो सम्बोधनको काम हुने बताए ।





