बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

राजमार्ग सुरक्षा चासो

राजमार्ग सुरक्षा चासो


  • Dhorpatan News
  • जेष्ठ ३१ २०७९, मंगलबार

जेठ महिनामै परेको बर्षातले पृथ्वी राजमार्ग भासियो । मानिसको ज्यान गयो । सडक नभएर यात्रीहरु घण्टौं जाममा बस्न बाध्य भए । चर्को घाम र बर्षातले आम नागरिकले सास्ती खेपे । मध्य बर्षातमा यस्ता घटना भैरहन्थे । तर यो पटक मनसुन शुरु नहुँदै, जेठमै आएको चर्को बर्षातले यो अबस्था ल्यायो ।

केही दिन अघि चितवनमा हावाहुरीले पनि धेरैको ज्यान लियो । सवार िसाधनमा ढलेका रुखले किस्दा करोडौंको क्षति पनि भयो । एकै दिनको बर्षातले बागलुङकै गलकोट क्षेत्रमा व्यापक क्षति भयो । ऐतिहासिक कोतघर भत्कियो, मध्यपहाडी लोकमार्ग देखि गलकोटका अधिकांस ग्रामीण सडकहरु भत्केर उजाड बनेका छन् । कालोपत्रे भैसकेका सडक बग्दा करोडौं क्षति भएको छ । साथै तत्काल बनाएर संचालन गर्न सकिने अबस्था पनि कम भएकोले फेरी करोडौं खर्चनुपर्ने बाध्यता छ ।

बर्षालागेपछि बाढी पहिरो, डुवान जस्ता बिपत्ती आउने गरेको छ । यस्ता बिपत्तीबाट बच्न पूर्व तयारी गर्नुपर्नेमा हामीले खासै गरेको देखिदैन । बरु जे पर्छ त्यसपछि मात्रै टर्छ भन्ने मान्यतामा काम गरेको देखिन्छ । सरकारले समयमा सोच्न नसक्ने, कर्मचारीतन्त्र, सुरक्षा निकाय जस्ता क्षेत्र उजुरी आएपछि मात्रै काम गर्ने प्रवृत्तिमा बसेकोले धेरै क्षतिहरु हुने गरेका छन् । क्षति भैसकेपछि गर्ने खोजी र उद्दारले खासै अर्थ नराख्ने गरेको पनि देखियो । हुन त खोजी उद्दारबाट कैयौं मानिसको ज्यान बचाउन सकिएको छ । तर हाम्रा सडकको अबस्था नियमित जाँच गर्ने देखि मौषम पूर्वानुमान गर्ने, हाम्रा संरचनाहरुको गुणस्तर नाप्ने काम भएको भए दुर्घटनाहरु क्म हुन्थे ।

मौषम पूर्वानुमान बिभागले काम गरेपनि त्यो बर्षा हुने वा घाम लाग्नेमा सिमित छ । हाम्रा सडक र पूर्वाधारहरु कति बर्षात थेग्न सक्छन्, कति पुराना हुन्, कुन स्थानमा जोखिम छ भन्ने समयमा पहिचान गरेर जानकारी दिन नसक्दा यस्ता घटना भएका छन् । त्यतिमात्र हैन मुख्य राजमार्गको बिकल्प समेत छैन । पृथ्वी राजमार्ग अबरुद्ध हुँदा तत्काल कुन सडकबाट यात्री ओसार्ने, खाद्यान्न ढुवानी कताबाट गर्ने भन्ने कुनै तयारी छैन । अन्य राजमार्गको अबस्था पनि त्यस्तै छ । जसका कारण कुनै प्रकोप आयो भने साता दिन सम्म सडक ठप्प हुने, धेरै दिन सम्म यात्रीहरु सडकमै अलपत्र पर्ने, सडकमा अलपत्र पर्दा पानी समेत खान नपाउने, छिटफुट रुपमा पाइने केही खानेकुराहरु दशौगुणा बढी मूल्य तिरेर मात्र पाउने अबस्था छ । पहिलो गयो भने यात्रीलाइ ठग्ने हो भन्ने प्रवृत्ति कतै देखिन्छ । राजमार्गमा सामान्य अबस्थाका नागरिक मात्रै हिड्छन् आकस्मिक सेवाका नागरिक हिड्दैनन् भन्ने सरकारी बुझाइ छ । सुत्केरी, गर्भवती वा अन्य घटनाका बिरामी रिफर भएर राजधानी वा शहरी क्षेत्रमा पनि पुग्दैछन् भन्ने कुरा हेक्का नराखेको पाइयो । जसका कारण सडकमै अलपत्र पर्ने, बिरामीको बाटैमा मृत्यु हुने अबस्था आउँदा पनि राज्यले खोजी र उद्दार गरेको देखिंदैन ।

यो त बर्षात नलाग्दैको घटनाहरु भए । मध्य बर्षातमा के कस्ता घटना होलान् ? त्यो त अझै बुझ्न बाँकी छ । त्यसैले राज्यले अझैपनि ढीला नगरी पूर्वतयारी गर्ने, राजमार्गका बिकल्पहरु खोज्ने र मौषम पूर्वानुमानलाई सचेतना पूर्वक लिने काम गर्नुपर्छ । सोही अनुसार राज्यका सुरक्षा निकाय तैनाथ र परिचालन गर्नुपर्छ । जवकी बर्षातका घटनाले मानिसको ज्यान नजाओस् । राजमार्गहरु सुचारु बनुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->