बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तीन तहकै नजर पञ्चकोटमा

तीन तहकै नजर पञ्चकोटमा


  • ढोरपाटन संवाददाता
  • असार ३ २०७९, शुक्रबार

बागलुङ/ बागलुङ नगरपालिका–६ स्थित पञ्चकोट धाममा पछिल्लो समय तीनै तहका सरकारको चासो बढेको छ । संघीय, प्रदेश र स्थानीय सरकारले पञ्चकोटमा पूर्वाधार विकास र प्रचार प्रसारका लागि आफ्ना कार्यक्रममार्फत सहभागिता जनाउन थालेका हुन् ।

स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि २०७१ देखि वर्षेनि महायज्ञ सञ्चालन गरी आर्थिक संकलन गरिँदै आएको छ । महायज्ञकै भरमा पञ्चकोटमा बनेका संरचनालाई पूर्णता दिन तीन तहका सरकारको ध्यानाकर्षण भएको हो ।

दक्षिण भारतीय शैलीमा निर्माण भएका मन्दिर र केही पूर्वाधार निर्माण भइरहेको अवस्थामा नै अध्ययन तथा अवलोकन र पूजापाठका लागि आउने पर्यटकको संख्यामा वृद्धि भएसँगै सरकारी निकायको ध्यान पञ्चकोटमा पर्न थालेको वडा अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

आठ वर्षदेखि निर्माणाधिन पञ्चकोटमा झण्डै २५ करोड रुपैयाँभन्दा बढीको संरचना निर्माण भइसकेका छन्भने मुख्य संरचनाका रूपमा निर्माण हुने विश्वशान्ति कलशको ६० करोड रुपैयाँ लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदन तयार गरी अहिले फाउण्डेसनको काम भइसकेको छ । कलशको फाउण्डेसन तयार गर्नका लागि तीन बर्ष यता बागलुङ नगरपालिकाले बजेट बिनियोजन गर्दै आएको छ ।

बागलुङ नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न हरेक बर्ष लगानी गर्दै आएको पञ्चकोटमा आगामी आर्थिक बर्षका लागि संघीय सरकारले पनि झण्डै चार करोड रुपैयाँ बिनियोजन गरेको छ । ‘पञ्चकोटमा विश्व शान्ति सर्वसिद्धिधाम कलश, भ्यू टावर र अन्य संरचना निर्माणका लागि आगामि आर्थिक बर्षका लागि ३ करोड ८८ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ’ संघीय सांसद डा.सूर्य पाठकले भने ‘शहरी विकास मन्त्रालयले बागलुङमा बिनियोजन गरेको बजेटमा प्राथमिकतामा पञ्चकोट परेको छ ।’ महायज्ञमा उठेको दान दक्षिणाकै भरमा सुरु भएको पञ्चकोटको निर्माण कार्यमा सरकारको ध्यान पुगेकोमा सर्वसाधारण खुसी छन् ।

गण्डकी प्रदेश सरकारले पनि आगामी आर्थिक बर्षको बजेटमा पञ्चकोटलाई संबोधन गरेको छ । नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पञ्चकोटमा पूर्वाधार विकासका लागि बजेटको व्यवस्था भएको बागलुङ क्षेत्र नं. १ (क) प्रदेसभा सदस्य इन्द्रलाल सापकोटाले बताए । बिनियोजित रकमको अंक भने मन्त्रालयगत बाँडफाँडमा तोकिने छ ।

बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोट मिलाएर पञ्चकोटको नामाकरण गरिएको यस क्षेत्रमा संसारकै अग्लो विश्व शान्ति कलशसमेत निर्माण गरिँदैछ । कलश निर्माणपछि पञ्चकोटमा बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको छ । समुद्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धवलागिरि, निलगिरीलगायत दर्जन बढी हिमशृंखला देख्न सकिन्छ ।

पञ्चकोट पुग्ने पर्यटकको संख्या बृद्धि हुन थालेपछि वडाले पनि आफ्ना कार्यक्रमहरु पञ्चकोट लक्षित बनाउन थालेको छ । पर्यटकको सुविधाका लागि पञ्चकोट क्षेत्र आसपासमा खाना, बास लगायतका सुविधा प्रधान गरेर आर्थिक गतिबिधि बढाउने योजना रहेको वडा अध्यक्ष रुद्र बहादुर केसी बताउँछन् ।

करिब एक सय रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग निर्माण भइसकेको छ । गण्डकी माताको मन्दिर र गरुणशिलाको निर्माण पनि पूरा भइसकेको छ । सिसमहल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुना घर बनिसकेको छ । ५ हजार ५ सय ५५ केजीको महाघन्टाका लागि आवश्यक संरचना तयार छ । त्यस्तै, सभा भवन निर्माणाधीन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->