बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कस्तो आउलान बागलुङका स्थानीय सरकारका नीति तथा कार्यक्रम

कस्तो आउलान बागलुङका स्थानीय सरकारका नीति तथा कार्यक्रम

बागलुङका दश स्थानीय तहमध्ये अधिकांशले यस पटक बिगतमा भन्दा फरक तरिकाबाट नीति ल्याउने जनाएका छन् ।


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७९, आइतबार

बागलुङ/ संघीय र प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेपछि सर्वसाधारणको ध्यान स्थानीय सरकारतर्फ केन्द्रित भएको छ । बढ्दो महंगी, कोरोना महामारीपछि सुस्ताएका आर्थिक गतिबिधि तथा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारको विकासका लागि स्थानीय तहले ल्याउने नीति र बजेटमा सर्वसाधारणको चासो बढेको हो ।

संबैधानिक व्यवस्था अनुसार आगामी असार १० गतेभित्र सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याईसक्नु पर्छ । बागलुङका स्थानीय तहले पनि असार १० नकट्नेगरी नीति तथा कार्यक्रम र बजेटको
तयारी गरिरहेका छन् । स्थानीय तहले नीति बनाउने र बजेटको तयारी गरिरहेका बेला सर्वसाधारणले भने जनजीविकासँग जोडिएर कार्यक्रम आउनेमा आशा गर्न थालेका छन् ।

‘महंगप् थेगिनसक्नुभयो, काम पाईंदैन्, हामीले फलाएको तरकारी बिक्दैन्, दुध बिक्छ तर समयमा पैसा आउँदैन्’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका गुरुप्रसाद शर्मा भन्छन् ‘अब आशा नजिकैको सरकारको हो, हाम्रो पनि चुलो बल्नेगरी कार्यक्रम आए हुन्थ्यो ।’

सर्वसाधारणको चाहना जस्तै बागलुङका स्थानीय तहले पनि रोजगारी सिर्जना, स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार र ठुला पूर्वाधार निर्माणलाई जोड दिने नीति ल्याउँदैछन् । बागलुङको बरेङ गाउँपालिका बितेका पाँच बर्षमा जिल्लामै पहिलो नीति तथा कार्यक्रम र बजेट ल्याउने गाउँपालिका हो । बरेङले आउँदो असार ५ गते नीति तथा कार्यक्रम र बजेट एकै दिन ल्याउँदै छ । बरेङले साझेदारीका योजनामा केन्द्रित हुँदै अनुदानको सदुपयोग हुने नीति ल्याउँदै छ ।

‘हामी अब पूर्वाधार विकासलाई साझेदारी मोडलमा लैजाने नीति ल्याउँछौं’ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘शिक्षा, स्वास्थ्य, पशुपालन र पर्यटन क्षेत्रको विकास र उद्योममार्फत आयआर्जन बृद्धि गर्ने नीति अबलम्बन गर्दैछौं ।’ ठुला आयोजना सञ्चालन गर्न गाउँपालिकासँग स्रोत नहुने र स–साना योजनाले मात्रै सर्वसाधारणले लाभ लिन नसकेकाले संघीय र प्रदेशसँग साझेदारी गरेर पूर्वाधारको विकास गर्ने नीति ल्याईने शर्माले बताए ।

‘अनुदान दिएर उत्पादन बढाउँछौं भनेर मात्रै नहुँदो रहेछ भन्ने बिगतको सिकाई हामीसँग छ, अनुदान लिनेहरु पाउँदाको भोलिपल्ट व्यवसाय छोडेर हिँडे’ शर्मा भन्छन् ‘अब हामी मागमा आधारित यान्त्रिकरण, व्यवसायीकरण योजनाबद्ध व्यवसाय गरेको किसानलाई मात्रै अनुदान दिने र आयआर्जन बृद्धि गर्ने नीति ल्याउनेमा छौं ।’

जिल्लाको गलकोट नगरपालिकाले पूर्वाधार क्षेत्रमा हुने लगानीभन्दा शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाको क्षेत्रमा हुने लगानी बढी हुनेगरी नीति बनाउँदै छ । सहकारीमार्फत महिलाहरुको सशक्तिकरण र उद्योममा लगाउने नीति गलकोटले ल्याउने नगर प्रमुख भरत शर्मा गैरेले बताए । ‘हाम्रा जनताको पहुँच संघ र प्रदेशसँग छैन्, हामीसँग नजिक हुनुहुन्छ तर स्रोत हामीसँग कम हुने’ गैरेले भने ‘अघिल्लो पटकको अनुभव हेर्दा सानातिना काम र पूर्वाधार कामले मात्रै जनतामा सन्तुष्टि आउँदैन् भन्ने बुझियो, अबको नीति सोही अनुसारको हुन्छ ।’

जिल्लाको जैमिनी नगरपालिकाले उत्पादनमा जोड दिने, नगरपालिकालाई आत्मानिर्भर बनाउने र सुशासनयुक्त नगर बनाउन आफ्नो नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरेको छ । ‘पहिलो कुरा हामीले कृषि उत्पादन र पर्यटनमार्फत आत्मानिर्भर नगरपालिका बनाउने नीति लिने छौं’ नगरप्रमुख नरबहादुर पुनले भने ‘पाँच बर्षमा सुशासनमा नमुना बनाउनकै लागि हाम्रो नीति तथा कार्यक्रम केन्द्रित हुनेछ ।’ सुशासन कायम गर्न बिज्ञहरुको सम्मेलन गर्ने र उत्पादन बृद्धिका लागि लगानी सम्मेलन गर्ने नीति बनाईने पुनले जानकारी दिए । छोटो समय भएकाले बाँकी कार्यक्रम भने कर्मकाण्डी नै आउने उनले बताए ।

बागलुङ नगरपालिकाले योजना कनिका छरेझैं छर्ने प्रबृत्तिलाई निरुत्साहित गर्ने नीति ल्याउँदै छ । साना काम वडा तहबाट गर्नेगरी ठुला योजनामा प्राथमिकता दिने नीति ल्याईने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । ‘एक वडा एक ठुला आयोजना’ कार्यक्रम ल्याईने उनले बताए । ‘बरु बहुबर्षे कार्यक्रम बनाउँ भन्ने नीति आउने छ, वडा तहमा सोही अनुसार सर्कुलर भएको छ’ श्रेष्ठले भने ‘पाँच लाख तलका योजना अब नगरले सञ्चालन गर्दैन् ।’ ठुला योजना सञ्चालन गर्दा जनसहभागिता जोडेर रोजगारी सिर्जना गर्ने उनले बताए ।

शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा देखिने गरी ठुला योजना सञ्चालन गर्ने नीति बागलुङ नगरपालिकाले ल्याउँदै छ । बागलुङका दश स्थानीय तहमध्ये अधिकांशले यस पटक बिगतमा भन्दा फरक तरिकाबाट नीति ल्याउने जनाएका छन् । बरेङ गाउँपालिका बाहेकका स्थानीय तह असार ७, ८ र ९ गतेसम्म क्रमशः नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->