बागलुङ/संघीय सरकारले बागलुङ नगरपालिका भित्रका बिभिन्न सिंचाई आयोजनाहरु सञ्चालन गर्न एक करोड २५ लाख रुपैयाँ बिनियोजन गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट बागलुङ क्षेत्र नं. १ अन्र्तगत बागलुङ नगरपालिकाका ५ र जैमिनी नगरपालिकाको १ आयोजना मात्रै छनोट भएका हुन् ।
बर्षा याममा प्रसस्त सिंचाईको अभाव भोगिरहेको बागलुङ नगरपालिका–१३ पैञ्युपाटामा पर्ने दम्कको फाँटमा आगामी आर्थिक बर्षमा लिफ्टिङ सिंचाईं आयोजना सञ्चालन हुने भएको छ । कालीगण्डकीको पानी तानेर सिंचाईका लागि फाँटमा पु¥याउनका लागि आयोजना सञ्चालन गर्न लागिएको हो ।
बहुबर्षे कार्यक्रमअन्र्तगत आगामी आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको संघीय सांसद डा. सूर्यपाठकले बताए । ‘दम्कको फाँट बाह्रै महिना हराभरा बनाउन सके तीन खती उत्पादन हुन्छ’ पाठकले भने ‘फाँटको सदुपयोगका लागि सिंचाईको आवश्यकता थियो, हामीले सोहीअनुसार योजना माग गरेका हौं ।’
यो फाँटमा सिंचाईका लागि अन्य बिकल्पहरु नरहेकाले लिफ्टिङ आयोजना सञ्चालन गर्नुपरेको पाठकले बताए । बागलुङ नगरपालिकाको सबैभन्दा ठुलो फाँट भएपनि दम्कको फाँटले सिंचाईको अभाव झेल्दै आएको थियो । कालीगण्डकी करिडोरभन्दा तल्लो भागमा पर्ने फाँटमा आधुनिक प्रबिधिको प्रयोग गरेर खेती गर्न सकिने भएकाले यहाँ सिंचाईको सुविधा हुँदा किसानलाई धेरै राहत हुने पैञ्युपाटाका स्थानीय भवानीप्रसाद रिजालले बताए । त्यस्तै मन्त्रालयले बागलुङ नगरपालिका–१ मालढुंगामा कालीगण्डकी नदी नियन्त्रणका लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
बागलुङ नगरपालिका–८ मा चितेपानी, डरामुनी, राम्चे ओखे्रनी सिंचाई आयोजनाका लागि २० लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । यो सिचाई आयोजना सम्पन्न हुँदा बागलुङ नगरपालिका–८ का धेरै किसान लाभान्वित हुनेछन् । सरखोला चिलाउनेबोट सिंचाई आयोजना बागलुङ नगरपालिका–९ का लागि १५ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । बागलुङ नगरपालिका–९ कै घारपाते खोलाको कटान नियन्त्रणका लागि मन्त्रालयले १५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
जैमिनी नगरपालिका–३ दमेकमा पहिरो नियन्त्रणका लागि मन्त्रालयले दश लाख रुपैयाँ बिनियोजन गरेको सांसद पाठकले बताए । ‘यो बर्ष प्राथमिकतामा आधारमा हामीले पेश गरेका केही सिंचाई र बाढीपहिरो नियन्त्रणका योजनामा मात्रै बजेट बिनियोजन भएको छ’ उनले भने ‘बिनियोजित बजेटको समयमा कार्यान्वयनका लागि सम्बन्धित क्षेत्रका उपभोक्ता र सम्बन्धित कार्यालयलाई भनेका छौं ।’
आगामी बर्षको बजेटमा बागलुङ क्षेत्र नं. १ मा सबैभन्दा कम योजना उर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रका हुन् । यो क्षेत्रमा खानेपानीका २९ र सडक पूर्वाधारका १३ आयोजनाहरु बिनियोजन भएका छन् ।





