बागलुङ/ जिल्लामा मानवअधिकार उल्लंघन तथा हिंसाका घटनामा कमी नआएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तयार गरेको तथ्यांक अनुसार मानवअधिकार उलंघन तथा हिंसाका घटनामा न्युनिकरण नभएको पाईएको हो ।
अघिल्लो बर्षको तुलनमा सन् २०२२ को पहिलो छ महिनामा मानवअधिकार उल्लंघनका घटना धेरै भएको पाईएको इन्सेकले जनाएको छ । ‘जिल्लामा मानवअधिकार उल्लंघनका घटना यो छ महिनामा २७ वटा भएका छन्’ इन्सेक बागलुङ प्रतिनिधि सिर्जना पन्तले भनिन् ‘अघिल्लो एक बर्षमा ६० घटना थिए, अहिलेको अवस्था हेर्दा मानवअधिकार उल्लंघनका घटनामा कमी नआएको पाईएको छ ।’
मानवअधिकार वर्ष पुस्तक २०२२ को लागि इन्सेक बागलुङले सन् २०२१ जनवरीदेखी नोभेम्बर सम्म ६० वटा घटनामाथि छलफल गरिएको थियो । इन्सेक बागलुङले यो अवधिमा बागलुङमा राजनीतिक अधिकारका २, बालअधिकार सम्बन्धी १५, घरेलु हिंसा २५, महिला माथि भएको बलात्कार ८, हत्या ४, बहुविवाह ३, अभद्र व्यवहार १ र हत्या प्रयासका २ गरि ६० वटा घटना उल्लेख गरेको थियो ।
पछिल्लो छ महिनामा बालबिबाह १, बलत्कार तथा बलात्कार प्रयास १०, अपहरण तथा शरीर बन्धक १, हत्या, हत्या प्रयास १, आत्माहत्या दुरुत्साहन २, बहुबिबाह ४ र घरेलु हिंसाका घटना ८ भएको पाईएको छ । इन्सेकले तयार गरेको तथ्यांक अनुसार पछिल्लो पटक बलात्कारका घटनामा बालबालिकासमेत संलग्न भएको पाईएको छ ।
मानवअधिकार उल्लंघन राज्य पक्षबाट हुने भएपनि अन्य घटनालाई मानवअधिकारसँग जोडेर इन्सेकले प्रतिवेदन ल्याउने गरेको छ । गतवर्ष घटेका अधिकांश घटना कानुनी दायरामा आइसकेका छन् । कतिपय घटनाको मुद्दासमेत टुङ्गिएर दोषीले कारबाही र पीडितले न्याय पाएको अवस्था छ ।
इन्सेक बर्ष पुस्तक समिक्षा कार्यक्रममा मानबअधिकारकर्मी लक्ष्मी जिसी कार्कीले मानव अधिकार उल्लंघनका घटनाले नयाँ रुप लिएको बताईन् । उनले हिंसामा परेका महिलाहरुका लागि राज्यले उचीत व्यवस्थापन गर्न नसकेका कारण न्याय पाउन कठिन भएको उल्लेख गरिन् ।
कार्यक्रममा सहभागिले घटना बिषेश तथ्यांक मात्रै आउने गरेको भन्दै समग्र मानवअधिकारको क्षेत्र समावेश हुनेगरी तथ्यांक आउनुपर्नेमा जोड दिए । बागलुङका प्रहरी प्रमुख दयानिधि ज्ञवालीले राज्यका तर्फबाट मानब अधिकारको रक्षकालागि सबै प्रयासहरु गरेको बताए ।





