बागलुङ/ गत साता गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) र बागलुङका जनप्रतिनिधि र पत्रकार समेतले बलेवाको भैरवस्थान र भकुण्डे पदयात्रा गरे ।
यसरी पदयात्रा गर्दा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको छ । त्यति मात्र नभइ पहाडी ग्रामीण पदमार्गमा यात्रा गर्ने अभ्याससमेत पिकास हुने विश्वास लिइएको छ । ‘पहाडी ट्रेलमा यात्रा गर्दा पर्यटन प्रवद्र्धनसहित स्थानीयको व्यवसायमा पनि सुधार हुन्छ’ नाटाका अध्यक्ष हरिराम अधिकारीले भने, ‘अन्य धेरै पदमार्गमा अब पर्यटक भित्राउनु पर्छ ।’ पोखरा आएका पर्यटकलाई साता दिनसम्म नजिकका जिल्ला घुमाउने योजनाका लागि नयाँ गन्तव्य खोजीमा आएको समेत उनको भनाई थियो ।
पोखरामा आएका पर्यटकले बैकल्पिक गन्तव्य खोज्नेका लागि पर्वतको कुश्मा झरेपछि बञ्जी जम्प गर्ने, बलेवास्थित भैरवस्थान, भकुण्डे बराहताल, पञ्चकोट लगायतका स्थान घुमाउन सकिने स्थानीय तयारी छ । बागलुङका पर्यटन व्यवसायीले पनि ती गन्तव्यमा पूर्वाधार सुधार देखि आर्कषक होटल र रेष्टुरेन्ट निर्माण गर्नुपर्ने समेत बताए ।
पहिलो पटक आएका पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराइले नयाँ ट्रेलले लोभ्याएको बताए । हिमाली दृश्यावलोकन गर्ने र ग्रामीण वातावरणमा घुम्न पाउने भएकोले ग्रामीण रुटलाई आर्कषक ट्रेलमा बिकास गर्न सुझाव पनि दिए ।
स्थानीयले चासो बढाएमा नयाँ रुटमा पूर्वाधार निर्माणमा साथ दिने पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताए । उक्त भनाइले होमस्टे संचालक पनि खुसी छन् । ‘केही सुधार हुन्छ भने हामीपनि लगानी गर्न तयार छौं’ भकुण्डे स्थित अतिथि सत्कार होमस्टेका अध्यक्ष खिमबहादुर थापाले भने, ‘कला र संस्कृति जोगाउने काममा पनि हामी लागेका छौं ।’ स्थानीय खानाका प्रकारमा सुधार गर्न लागेको उनले बताए ।
बागलुङको भकुण्डेदेखि सिगानाहुँदै रेशको बौर जाने रुटलाई भने भेगन ट्रेलको रुपमा यस अघिनै बिकास गरिएको छ । उक्त रुटमा अमेरिकाबाट आएका भेगन समूहले यात्रा समेत गरिसकेका छन् । दुइ वर्षअघि नै रुट बनाएर यात्रा गरेका पर्यटक कोरोना संक्रमणका कारण आएका थिएनन् । संक्रमण हटेपछि फेरी उनीहरु आउने क्रम शुरु भएको छ । यो रुट भेगन फ्रेन्डली बन्दै गएको समेत उनीहरुले बताए ।
पशुजन्य उत्पादन नखाने र प्रयोग नगर्नेहरु भेगन समूहमा छन् । उनीहरुले फलफूल र अर्गानिक खाना बढी रुचाउने गर्छन् । आलु, भाँगो, मकै र गौंका परिकार उनीहरले धेरै रुचाउने गरेको स्थानीयले बताए । भकुण्डे स्थित बराह ताल अबलोकन, अतिथि सत्कार होमस्टेमा बास समेत बस्न थालेको स्थानीय पर्यटन व्यवसायी महादेव शर्माले बताए । भकुण्डेमा बास बसेपछि पर्यटकले दैनिक ३ घण्टा सम्मको पैदल यात्रा गर्ने र समुदायमै बस्ने गर्छन् ।
‘हिमाली क्षेत्रको यात्रामा निस्कनेहरु भन्दा यो रुटमा निस्कने बढी खुसी देखिएका छन्’ शर्माले भने, ‘यहाँ यात्रा गर्दा समुदायसँग घुलमिल हुने अबसर पाएर पर्यटक खुसी छन् ।’ बेसक्याम्पमा जानेहरु बढी साहसिक यात्राकोलागि मात्रै चाहना राख्ने गरेकोमा भेगन ट्रेलका पर्यटकले समुदायको सिकाइ खोज्ने गरेका हुन् । यो रुटबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे लगायतका हिमाल र ऋखला देखिन्छ । कोरिया र जापानबाट पनि पर्यटकको समूह यो रुटमा आएका छन् ।





