बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कालीगण्डकी करिडोरमा पहिरै पहिरो

कालीगण्डकी करिडोरमा पहिरै पहिरो


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७९, मंगलबार
फाईल तस्विर

बागलुङ/ बर्षात् पछिको पहिरो र सुख्खा पहिरो ठाउँ ठाउँमा खसेपछि कालीगण्डकी करिडोर अबरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकास्थित बिनामारे, अर्जेवा लगायतका स्थानमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।

करिडोरमार्फत दक्षिणको जैदी, छिस्तीसम्म पुग्न सकिन्छ । गुल्मीको अर्वेनी, रिडीहुँदै पाल्पा र बुटवलसम्म जानुपर्ने यात्रीहरुले सास्ती खेपेका छन् । ‘बिनामारेको बाँझखेत र कुचुरे भीरमा नियमित ढुंगा खसेपछि यात्रा कठिन भएको छ’ स्थानीय गोपाल प्रसाद शर्माले भने, ‘सरासर जान सकिंदैन भनेपछि गाडी गुड्न डराएका छन् ।’ दुई दिनदेखि करिडोरमा जिप र बस चल्नै छाडेको उनले बताए ।

ग्रामीण क्षेत्रमा पुग्नेले बैकल्पिक सडक प्रयोग गरेका छन् । तर करिडोरहुँदै बुटवलसम्म पुग्नेले भने यात्रा गर्न नपाएको बताए । ‘बुटवल जानुपर्ने थियो, करिडोरमा गाडी नचलेपछि बागलुङको बाटो घुम्नुप¥यो’ स्थानीय धनबहादुर थापाले भने, ‘पहिरो पन्छाउने काम भैरहेको छ, तर समय समयमा बाटो रोकिंदा यात्रा अनिश्चित भयो ।’ केही समयदेखि करिडोरको बाटो बुटवलतर्फ जाने सवारी नियमित हुन सकेका छैनन् ।

केही दिनदेखि परेको बर्षात्ले जैमिनी नगर क्षेत्रका वडाहरुमा जाने सडक पनि अबरुद्ध हुन थालेको प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले बताए । अबरुद्ध सडक खुलाउन करिडोर र सडक डिभिजन कार्यालयले चासो नराखेको स्थानीयको गुनासो छ । बरु जैमिनी नगरपालिका र स्थानीयले सफाई गरेर सवारी चलाउन पहल गरिरहेका छन् । ‘बाटो अबरुद्ध भैरहेको छ, बेला बेला स्थानीयले पहिरो पन्छाएर गाडी चलाएका छन्’ थापाले भने, ‘सडक खुलाउन विभाग र करिडोरको टिम भने कोही आएको छैन ।’

करिडोरका कतिपय स्थानमा खोलाखोल्सीमा पुल नबन्दा पैदल यात्रीलाईपनि सास्ती भएको छ । बर्षात्पछि पानीको सतह बढेकोले पैदल यात्रीले जंगार गर्नुपर्ने बाध्यता छ । जैमिनी नगरपालिका–७ र ८ मा ठूला खोलाखोल्सी तर्नुपर्ने बाध्यताले स्थानीय बढी प्रभावित भएको स्थानीय मुना अधिकारीले बताइन् । ‘बाढी र पहिरोले अहिले नै बर्षा लागेजस्तो भएको छ’ उनले भनिन्, ‘पैदल हिड्ने बाटोहरु पनि पहिरोले अप्ठ्यारा भएकोले जोखिम बढेको छ ।’

करिडोरको मालढुंगादेखि बलेवा खण्डपनि जीर्ण जस्तो छ । कतै पहिरो खसेको छ भने कतिपय स्थानमा हिउँदमै खसेका पहिरो पन्छाइएको छैन । सडक चौडा पारिएको र अन्य स्तरोन्नतीको काम समेत गर्न लागेपनि सरर सवारी चल्ने अवस्था नभएको हो । यो खण्ड कालोपत्रे गर्न बजेट बिनियोजन भएपनि अझै ठेक्कामा गएको छैन । ठेक्कामा नगएसम्म करिडोर आयोजनाले हेर्ने भएकोले कामले गति लिन नसकेको बानपा–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

‘काम बिशेषले दिन दिनै बजार आउनुपर्छ, हामीले पनि करिडोर प्रयोग गर्न पाएका छैनौं’ खत्रीले भने, ‘जतासुकै ढुंगा खस्छन्, जोखिम छ, त्यसैले करिडोर चलेको छैन ।’ सडक डिभिजनका एक इन्जिनियरले सडक डिभिजनको जिम्मामा आइनसकेकोले स्तरोन्नतीको काम गर्न नसकेको बताए । सामान्य बजेटले पहिरो पन्छाउने काम भने नियमित भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->