बागलुङ/ जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय रैथाने बालीको बिउबिजनहरू संरक्षण अभियान थाल्ने भएको छ । रैथाने बाली लोप हुँदै गइरहेको भन्दै गाउँपालिकाले ‘हाम्रो बिउ, हराउन नदिउँ’ अभियान थाल्ने भएको हो ।
बिउको संरक्षणका लागि गाउँपालिकाले नै किसानलाई प्रोत्साहन र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने भएको हो । ‘हाम्रो बिउ, हराउन नदिउँ’ अभियान हरेक वडामा सञ्चालन गरेर बिउ जोगाउनका लागि गाउँपालिका स्तरमा बिज बैंक स्थापना गरिने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
व्यवसायीक उत्पादनका लागि आधुनिक प्रबिधि र आधुनिक बिउ बिजनका साथै रैथाने बालीको संरक्षण गर्ने दायीत्व गाउँपालिकाको भएकाले बिज बैंक स्थापना गरेर संरक्षणको अभियान थालिने उनले बताए । ‘हामीले अहिले कसरी जीवनयापन गरेका छौं, के खान्थ्यौं, हाम्रो खेतबारीमा के फल्थ्यो भन्ने भाबी पुस्ताले थाहै नपाउने हुनसक्छ’ शर्माले भने ‘हाम्रो बिउ जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।’
‘बरेङमा समृद्धि, कृषि लगानी वृद्धि’को मूल मर्मलाई आत्मसात गर्दै आर्थिक विकास र समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा कृषि क्षेत्रलाई विकास गर्ने लक्ष रहेको शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । कृषक र कृषि पेशालाई सम्मानित पेशाका रुपमा स्थापित गर्ने र पुरानो जोगाउँदै नयाँ बिउमार्फत व्यवसायीक बन्ने योजना बरेङको छ ।
बिज बैंकमा रैथाने जातका खाद्यान्न बाली तथा तरकारी र फलफुलको समेत संरक्षण गरिने गाउँपालिकाले जनाएको छ । ५ वटै वडाहरूमा सञ्चालनमा रहेका विभिन्न कृषि पकेट क्षेत्रहरूलाई थप व्यवस्थित गर्ने योजना गाउँपालिकाले बनाएको छ । बाँझो जमिनको उपयोग गरेर पनि रैथाने बालीको संरक्षण गर्न सकिने अध्यक्ष शर्माले बताए ।
त्यस्तै, गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० लाई फलफूल वर्षका रुपमा लिई संघ तथा प्रदेश सरकारसँग समन्वय गरी फलफूलका बिरुवा रोप्ने अभियान चलाइने जनाएको छ । रैथाने बालीको संरक्षण र उत्पादन बृद्धिलाई समानान्तर रुपमा अघि लैजाने नीतिमा रहेको गाउँपालिकाले आगामी आर्थिक वर्षमा १० प्रतिशत कृषि उत्पादन वृद्धि गर्ने लक्षसमेत सार्वजनिक गरेको छ ।
‘सिंचाई, मल, बिउ र प्रबिधि सबै प्रयोग गरेर उत्पादन बढाउँछौं’ अध्यक्ष शर्मा भन्छन् ‘अहिले भैरहेको उत्पादनभन्दा धेरै उत्पादनका लागि बाँजो जग्गाको उपयोग पनि एउटा आधार हो ।’ बागलुङमा कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षण अभियान चलाईरहेको छ । उन्नत जातका खाद्यान्न तथा फलफुलले गाउँ गाउँसम्म प्रभाव पार्न थालेपछि स्थानीय तथा प्रदेश सरकार रैथाने बालीको संरक्षणमा लागेका हुन् ।





