बागलुङ/ वैदेशिक रोजागारको नाममा हुने मानव बेचविखान र ठगी नियन्त्रणको लागि प्रहरीलाई सचेत गराइएको छ । विवाईसी बागलुङको स्थानीय व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनाअन्तर्गत प्रहरी अन्तरक्रियामार्फत वैदेशिक रोजगारको आवरणमा हुने मानव बेचविखनका गतिविधि र आकर्षक कमाईको नाममा हुने ठगी धन्दाबारे प्रहरीलाई जानकारी दिइएको हो ।
जिल्ला तहमा बिना इजाजत मेनपावर व्यवसाय सञ्चालन गर्ने, युवाहरुलाई विदेश पठाउन बहानामा अलपत्र पार्ने जस्ता क्रियाकलाप नियन्त्रण गर्नको लागि प्रहरीले निगरानी बढाउनु पर्ने वैदेशिक रोजगारी बोर्ड सामी परियोजनाका कार्यक्रम अधिकृत शिव रेग्मीले जोड दिए ।
वैदेशिक रोजगारको नाममा हुने ठगी नियन्त्रण विषयमा प्रहरी र वैदेशिक रोजगार विभाग बीच भएको सम्झौता अनुसार काम गर्न सके जिल्ला तहमै पीडितले न्याय पाउने उनको भनाई थियो ।
प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले आर्थिक ठगी, मानव बेचविखन जस्ता गतिविधिबाट पीडितलाई न्याय दिलाउन प्राकृतिक न्यायको सिद्धान्तलाई आधार मानेर सहकार्य गर्न सकिने उल्लेख गरे । वैदेशिक रोजगारको ठगी प्रहरीको क्षेत्राधिकारभित्र नपरे पनि पीडितलाई न्यायको लागि तालुक निकायसँग समन्वय गर्ने उनको भनाई छ ।
‘विदेश पठाउने नाममा ठगी हुने क्रम बढ्दो छ’ उनले भने ‘क्षेत्राधिकार बाहिरको विषयलाई कानुनी दायरामा ल्याउन सहयोग गछौँ । प्रमाण जुटाउने, आरोपीलाई सम्बन्धित निकायसम्म पु¥याउने काममा सहयोग गर्न सकिन्छ ।’ बागलुङ, जैमिनी, गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा सामी परियोजना सञ्चालित छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले कार्यान्वयनमा रहेको परियोजनाअन्तर्गत राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाका लागि सुरक्षित वैदेशिक रोजगार परामर्श, निःशुल्क कानुनी सेवा, सीप तालिम, मनोसामाजिक परामर्श तथा वित्तिय साक्षरता र फर्केका युवाका लागि सामाजिक पुनस्थापनाको काम गर्दै आएको विवाईसीका अध्यक्ष मणी शर्माले जानकारी दिए ।
वैदेशिक रोजगारको नाममा हुने ठगीमा आवश्यक प्रमाण जुटाउने तथा एजेन्टको खोजीमा प्रहरीको सहयोग आवश्यक हुने परियोजनाका संयोजक मिनप्रसाद उपाध्यायको भनाई छ । वैदेशिक रोजगार ऐन २०६४ को व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालयलाई प्राप्त अधिकारको प्रयोगमा प्रहरी सहयोग भूमिका निर्वाह गर्न सक्छ ।





