बागलुङ/ जिल्लाको वडिगाड गाउँपालिकाको गाउँसभामा ग्रामिण सडक व्यवस्थित बनाउनेदेखि शिक्षक कर्मचारीले राजनीति छोड्नुपर्ने सम्मका सवाल उठेका छन् । गाउँसभाका सदस्यहरुले ग्रामिण सडकमा मनोमानी भाडा दर कायम गरिएको, शिक्षक कर्मचारीले खुल्ला राजनीति गर्ने गरेको, गाउँपालिकाले पर्यटन क्षेत्रका लागि ध्यान नदिएको र कला संकृतिको संरक्षणमा कम ध्यान पुगेको लगायतका सवालहरु उठाएका थिए ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमा यी सबै सवालहरु समावेश हुनुपर्ने भन्दै उनीहरुले जनजीविकासँग जोडिएका सवालमा नीति तथा कार्यक्रम बोल्नुपर्ने बताए । गत असार ९ र १० गते गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेटमा छलफल चलिरहेको छ ।
गाउँसभामा बडिगाड गाउँपालिका–४ का वडा सदस्य टोप बहादुर श्रीसले गाउँपालिका भित्रका ग्रामिण सडकलाई व्यवस्थीत गर्नतर्फ पालिकाले ध्यान दिनुपर्ने बताए । श्रीसले भने ‘हाम्रो पालिकाका ग्रामिण सडकमा संचालन हुने यातायताका साधनले बढि यात्रु लिएर यात्रा गर्दा यदि घटना भएमा समाज, वडा हुँदै पालिकाको पनि नाम जोडिन्छ यसको रोकथामको लागि ध्यान जाओस । सबै सडकमा सबैखाले सवारी संचालन हुनेगरी काम गर्नुपर्यो ।’
यस्तै, बडिगाड– १ का वडा सदस्य राजु थापाले बिकासका गतिविधि संचालन गर्दा वडा तहमा सिमानको विषयमा विवाद हुने गरेको भन्दै त्यसको अन्त्यका लागि गाउँपालिकाले पहल गर्नुपर्ने बताए । वडा नं. ९ का वडाध्यक्ष कृष्ण बहादुर केसीले वडालाई झलुङ्गे पुलको वडा बनाउनु पर्ने बताए । केसीले राजनिति मुक्त शिक्षक कर्मचारी बनाउनु पर्ने धारणासमेत राखे । ‘हामिले शिक्षामा गुणस्तर खोजिरहेका छौं तर गुणस्तर किन छैन्’ केसीले भने ‘शिक्षकहरु राजनितिमा लाग्दा गुणस्तर घट्दै गईरहेको छ ।’
यस्तै, बडिगाड–३ सिसाखानीको घाटु नाँच सहित बडिगाडमा भएका विभिन्न कला तथा संस्कृतिको संरक्षणमा समेत पालिकाले ध्यान दिनुप्रर्ने बडिगाड–३ का वडाध्यक्ष खड्क पुनले जोडदिए । साथै गाउँसभा सदस्यहरुले पालिकाले विनियोजन गर्ने बजेट आगामि वर्ष टुक्रे योजनाका रुपमा नराख्न पनि सुझाव दिए ।





