बागलुङ/ असारको १५ सम्म आइपुग्दा बागलुङमा कुल धानखेतको २० प्रतिशत मात्रै रोपाइ भएको छ । पानी र मौषमले साथ दिएपनि रोपाइ थोरै भएको हो । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइका अनुसार ढीलागरी रोपाइ शुरु भएको बताए ।
‘मौषमले साथ दिएको, नियमित बर्षात भएकोले अब भने किसानले छिटै धान रोपेर सक्छन्’ उनले भने, ‘रोपेको धानलाई उत्पादन बढाउने काममा किसान पछाडि परेका छन् ।’ दिनदिनै उत्पादकत्व ह्रास भएकोले जैबिक मल प्रयोगमा जोड दिने काम केन्द्रले गरेको उनले बताए ।
धान खेतीको यकिन तथ्यांक समेत नभएकोले बढेको वा घटेको देखाउन कठिन भएको भट्टराइको भनाई छ । दश बर्षअघि तत्कालिन कृषि कार्यालयले ५ हजार ९ सय हेक्टरमा धान खेती गरिने तथ्यांक दिन्थ्यो । तीन बर्ष अघि आएको कृषि ज्ञान केन्द्रले पनि ५ हजार ४ सय, ५ हजार ६ सय गर्दै ५ हजार ८ सय ५० हेक्टर जमिनमा धान खेती गरिएको तथ्यांक देखाएको छ ।
चालु बर्ष भने ५ हजार ९ सय हेक्टरमा धान खेती गरिएको तर उत्पादकत्व बढ्न नसकेको भट्टराइले बताए । ‘हाम्रोमा कृषि गणना भएकै छैन, पुरानै तथ्यांकलाई प्रक्षेपण मात्र गरिएको हो’ भट्टराइले भने, ‘उत्पादकत्व बढ्ने गरी मल र बीउ छनौट समेत भएको छैन ।’ बागलुङमा हाल परम्परागत धान लगाउँदा उत्पादकत्व ह्रास भैरहेको उनले बताए ।
ज्ञान केन्द्रको तथ्यांक अनुसार हाल बागलुङमा १८ हजार ६ सय ९० मेट्रिकटन धान उत्पादन भएको छ । ‘गुणस्तरीय बीउ छनौट गर्ने, उन्नत जात लगाउने बानी बिकास गर्दा अझै बढाउन सकिन्छ’ भट्टराइले भने, ‘धान लगाउने जग्गानै बढी छ, कतिपय स्थानको तथ्यांकै लिइएको छैन ।’
बागलुङको तमानखोला र ताराखोला गाउँपालिकामा थोरै मात्र धान लगाइन्छ । अन्य सबै पालिकामा प्रमुख बाली धान हो । बागलुङ नगर क्षेत्रमा मात्रै हालको तथ्यांकको आधाबढी जमिनमा धान फल्ने उनले बताए । सिफरिस गरिएका गौरिया, जेठोबुढो, राधा, खुमलटार जस्ता धान रोपेपनि हालको तथ्यांकमा ५० प्रतिशत उत्पादकत्व बढाउन सकिने उनले बताए ।
कृषिबालीमा लाग्ने रोगको उपचार समेत नहुँदा उत्पादन बढ्न नसकेको हो । समयमा मल नराख्ने र रोग लागेपनि उपचार नगर्ने पद्दतीले उत्पादन थप घटाएको बागवानी बिकास अधिकृत कुमार पुनले बताए । ‘सामान्य समस्या पर्नासाथ समयमा औषधी मात्रै छर्न सके किसानको लगानी खेर जाँदैन’ पुनले भने ।
धानबाहेक मकै, आलु र अन्य अन्नबालीमा पनि रोगको प्रकोप देखिएको तर उपचार नभएको उनले बताए । राष्ट्रिय जनगणनाको क्रममा कृषि तथ्यांकसमेत निकाल्ने पद्दती भएपनि जनगणनामा कृषि क्षेत्र प्राथमिकतामा नपरेको पुनले बताए ।
हरेक पालिकाले आफ्नो क्षेत्रको कृषि गणना गर्न संघिय सरकारले ३ लाख रुपैयाँको दरले रकम पठाएको छ । तर उक्त समेत पालिकाले खर्चेका छैनन् । ‘हाम्रो गणनाबाट पनि यकिन तथ्यांक आउन सक्छ, तर एक बर्ष कुर्नुपर्छ’ तथ्यांक अधिकृत मुकुन्द शर्माले भने, ‘तथ्यांक आउन भने एक बर्ष लाग्छ ।’ कृषि गणना भर्खर सकिएपनि तथ्यांक आउन एक बर्ष लाग्ने उनको भनाई छ ।





