बागलुङ/ जिल्लाको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा पहिरोले सामुदायिक स्वास्थ्य इकाईको भवन, स्थानीयले बनाएको सामुदायिक भवन पुरेको छ भने दुई घर बिस्थापित भएका छन् । भवन माथीबाट आएको पहिरोले दुवै भवन पुरेको हो ।
बुधबार बिहानैदेखि परेको बर्षासँगै रातको समयमा आएको पहिरोले भवनहरु कामै नलाग्ने गरी क्षति पु¥याएको छ भने घरहरु जोखिममा परेपछि स्थानीयले घर छोडेका छन् । ‘धुल्लुबास्कोटको सामुदायिक स्वास्थ्य इकाईको भवन कामै नलाग्ने बनायो, अर्कोे एउटा सामुदायीक भवन पुरेको छ’ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘भवन नजिकै घर भएका मिठे दर्जी र उनको छिमेकीको परिवारले रातमानै घर छोडेका छन् ।’
पहिरोको जोखिम रहेका घरपरिवारलाई छिमेकीको घरमा राखिएको शर्माले बताए । अधिक बर्षाका कारण बरेङ गाउँपालिकाका अधिकांश ठाउँमा पहिरो खसेको छ । स्थानीय र सदरमुकाम तथा अन्य जिल्ला जोड्ने सबै सडक अबरुद्ध भएका छन् । विद्युतसमेत अबरुद्ध हुँदा सञ्चार सेवाबाट स्थानीय बञ्चित भएको शर्माले बताए ।





