बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बडिगाड गाउँपालिका वडा नं. १ पूर्ण सफाइयुक्त घोषणा

बडिगाड गाउँपालिका वडा नं. १ पूर्ण सफाइयुक्त घोषणा


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७९, आइतबार

बागलुङ/ सबै घरमा पक्की शौचालय, घरघरमा शुद्ध खानेपानीको व्यवस्था, सरसफाइका सबै सूचक पुरा गरेर बडिगाड गाउँपालिका वडा नं. १ दगातुम्डाँडा पूर्ण सफाइयुक्त घोषणा भएको छ ।
सबै सूचक पुरा गरेको अनुगमन, मूल्यांकनको प्रतिवेदन आएपछि गाउँपालिका स्तरीय स्वच्छता समन्वय समिति, जिल्ला स्तरीय स्वच्छता समन्वय समितिले पूर्ण सफाइ वडा घोषणा गर्न सिफारिस गरेपछि शुक्रबार घोषणा भएको हो । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले स्वच्छ वडाको उद्घाटन गरे ।

उक्त अवसरमा उनले बाहिरी सरसफाइसँगै आम नागरिकको आनीबानीमा पनि सुधार हुनुपर्ने बताए । ‘अब घर घरमा सफाइका सबै सूचक अद्यावधिक गराउनु पर्छ’ थापाले भने, ‘व्यक्तिगत सफाइमा ध्यान नदिए घोषणाको औचित्य छैन ।’

दगातुम्डाँडाका ५ सय ३० घरमा घोषणाका लागि न्युनतम सूचक पुरा भएको वडा अध्यक्ष बोमबहादुर थापाले बताए । उनले आर्थिक अवस्था कमजोर भएर शौचालय बनाउन नसकेकालाई वडाबाट समेत सहयोग गरेको बताए । ‘दर्जन बढी घरमा वडा र पालिका मिलेर शौचालय बनाइदिएका छौं’ थापाले भने, ‘यो अभियानमा कोही पनि छुट्नु हुँदैन भनेर आवस्यकता अनुसार कसैलाई शौचालयको प्यान, कसैलाई जस्ता पाता र अन्य सामाग्री सहयोग गरेका हौं ।’

दगातुडाँडामा खानेपानीको भने अझै समस्या छ । झण्डै ३५ बर्षअघि तारेभीरबाट ल्याएको खानेपानी जीर्ण भएकोले नियमित आउँदेन । बिहान बेलुकी छोटो समयका लागि आउने पानी थाप्ने भीड लाग्छ । तर यहाँ नेपाल स्वास्थ्यका लागि पानी, नेवा सहित वडा र गाउँपालिका समेतको लगानीमा केही आयोजना निर्माणाधिन छन् । पुरानो आयोजनाको मर्मत समेत भैरहेको छ । त्यसैले केही समयमै सबै घरघरमा धारा पुग्ने थापाले जानकारी दिए ।

पूर्ण सफाइ युक्त हुनकालागि घरघरमा शौचालय सहित शुद्ध पानीको व्यवस्था र धारा समेत हुनुपर्ने प्रावधान छ । घरघरमा पानी शुद्धिकरणका उपायाहरु अपनाइएको छ । यसरी अपनाइएको विधिले पानी प¥र्याप्त नभएपनि शुद्ध पानी खाने व्यवस्था भएको स्थानीय वडा सदस्य इश्वरा बिकले बताइन् । ‘धारा बन्दैछन्, अहिले साझा धाराको पानी खान्छौं’ उनले भनिन्, ‘पानी उमालेर मात्रै खाने व्यवस्था भएकोले पानी जन्य समस्या अब पर्दैन ।’

गाउँपालिकाकै पहिलो वडाको रुपमा स्वच्छ वडा घोषणा भएकोले अब अन्य वडामा घोषणाको लहर आउने प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । घोषणा सभामा स्थानीय खड्गदेवी माविका शिक्षक र बिद्यार्थी, जनप्रतिनिधि, छिमेकी वडाका अध्यक्षहरु, कर्मचारी र स्थानीय सहभागि थिए । उनीहरुले फोहोर पानी नखाने, तोकिएको स्थानमा मात्रै फोहोरको व्यवस्थापन गर्ने लगायतका प्रतिवद्धतामा हस्ताक्षर समेत गरेका छन् । ‘अब कतैपनि फोहोर देख्न पाइने छैन, बिद्यालयमा पनि बालबालिकालाई सचेत बनाएका छौं’ अभिभावक जमुना श्रीषले भनिन्, ‘फोहोरको उचित व्यवस्थापनमा पनि ध्यान दिएका छौं ।’

पशुको गोठ सफा गर्ने, भाँडा धुने स्थानमा सफा राख्ने र भाँडा सुकाउने, उमालेको वा अन्य विधिबाट शुद्धिकरण गरेको मात्रै पानी पिउने, शौचालय गएर आएपछि साबुनपानीले हात धुने जस्ता व्यवस्थापन पनि भएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->