पोखराका मेयर धनराज आचार्यले आफ्नो जन्मथलोसमेत रहेको वडामा ल्याण्डफिल साइट बनाउने घोषणा गरे । उनी घोषणामा मात्रै सीमित छैनन्, आर्थिक वर्ष २०७९/८० को बजेटमा पोखरा ३३ टिमुरपाटामा ल्याण्डफिल साइट निर्माणको लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । १० करोडमा ल्याण्डफिल साइट बन्दैन तर मेयर आचार्यको घोषणापछि सिंगो वडा नै त्यो निर्णयको विरुद्ध उभिएको छ । भरतपोखरीमा आयोजना गरिएको भेलामा सबैजसो राजनीतिक दल र त्यहाँका नागरिक अगुवाहरुले ल्याण्डफिल साइटको विरुद्धमा अभिव्यक्ति दिएको सार्वजनिक भएको छ ।
पोखरा १४ मा रहेको ल्याण्डफिल साइट बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने हो भने त्यो ल्याण्डफिल साइट बन्द गरिनुपर्छ । त्यहाँको ल्याण्डफिल साइट स्थान्तरणको लागि यसअघि नै महानगरलाई भनिसकिएको छ । तर, विकल्प नपाउँदा महानगरले यहीँ सार्छु भन्न सकेको छैन । ल्याण्डफिल साइट बन्द नहुँदा राष्ट्रिय गौरवको परियोजना अर्थात् विमानस्थलको भविष्य नै अन्यौलग्रस्त बनेको छ । १७ वर्षअघि बनेको बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइटको आयू सकिएको छ । त्यत्तिकै पनि त्यहाँबाट ल्याण्डफिल साइट सार्नैपर्छ । अहिले बाध्यता आइलागेको छ ।
पोखरा महानगरका पूर्वमेयर मानबहादुर जिसीले यही बुझेर आफ्नो अध्यक्षतामा भएको अन्तिम कार्यपालिका बैठकबाट टिमुरपाटामा ल्याण्डफिल साइट बनाउने निर्णय गराएका थिए । त्यसको वातावरणीय अध्ययन भने भएको छैन । तर, ल्याण्डफिल साइट भन्नासाथ स्थानीयहरु हच्किएका छन् । जिसीकै पालामा पोखरा १६ र २० को बीचमा पर्ने पस्मराङमा ल्याण्डफिल साइट बनाउने निर्णय गरेको थियो तर त्यो निर्णयमा पनि त्यस्तै विरोध आयो । त्यहाँका वडाध्यक्षहरु नै विरोधमा उत्रिए ।
कारण एउटै छ, एउटाको घरको फोहर अर्काको आँगनमा लगेर फाल्ने प्रवृत्ति । यही प्रवृत्तिका कारण बाच्छेबुडुवा क्षेत्रका बासिन्दाहरु पनि आन्दोलित बनेका थिए । फोहर विसर्जन सबै नगरहरुको समस्या हो । एउटाले गरेको फोहरबाट अर्कोलाई प्रताडना दिनु कुनै पनि कोणबाट सही हुँदैन । हाल नेपालमा संचालित ल्याण्डफिल साइटहरुले सो क्षेत्रका बासिन्दाहरु साँच्चिकै प्रताडित बनेका छन् । उनीहरुमा स्वास्थ्यदेखि अनेकौं समस्या देखिएका छन् । त्यसको समाधान नभएसम्म जहाँ जग्गा खोजे पनि ल्याण्डफिल साइटको विरोध भइरहन्छ भन्ने सरोकारवालाले बुझ्नु जरुरी छ ।
फोहर आफैमा मोहर हो । घरबाट निस्कने फोहरलाई राम्रोसँग प्रयोग गर्न सकियो भने त्यसबाट साँच्चिकै आम्दानी गर्न सकिन्छ । घरबाट निस्कने प्राङ्गारिक फोहरबाट मल बनाउन सकिन्छ, ग्यास निकाल्न सकिन्छ । प्लाष्टिकदेखि कागज र कपडासम्म सबै पुन ः प्रयोग गर्न मिल्छ । त्यस्ता फोहरलाई स्रोतमै वर्गीकरण र उपयोग गर्न सकियो भने स्रोतमै फोहर व्यवस्थापन हुन्छ । ल्याण्डफिल साइट भनेको प्रशोधन उद्योग चलाउने ठाउँ बन्छ । मेयर आचार्यले बजेट भाषणको क्रममा त्यो कुरा उठाएका छन् । यो कुरा व्यवहारमा लागू गर्न सकिन्छ भन्ने दृष्टान्त दिने दायित्व पनि उनकै काँधमा छ । मेयर यो दिशामा अगाडि बढून् । अर्काको आँगनमा फोहर फाल्ने हैन, त्यहाँ मोहर फलाउने योजनाबारे बुझाउन् । यो काम फत्ते गर्दा मेयरले वाहवाही कमाउँछन् र पोखराले पनि नमूना भएको सन्देश प्रवाह गर्न सक्छ ।
