बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

साझेदारी योजना ऋणमा

साझेदारी योजना ऋणमा


  • ढोरपाटन संवाददाता
  • असार २० २०७९, सोमबार

बागलुङ/ गलकोट नगरपालिका वडा नं. ५ को टेउवामा भएको मुर्तिकला कार्यशालालाई व्यवस्थापन गर्ने योजना पर्यटन मन्त्रालयको बजेट नपाएर पूरा हुन सकेको छैन ।
४ करोड ८० लाख रुपैयाँको लागतमा व्यवस्थापन भैरहेको मूर्तिकला परियोजनाको संघीय पर्यटन मन्त्रालयबाट आउनु पर्ने ६० प्रतिशत रकममध्ये अहिलेसम्म ५३ लाख मात्रै आएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । ‘पटक–पटक ताकेता गरेका छौं, कहिले चुनाव भन्छन्, कहिले के बाहना बनाउँछन्’ गैरेले भने, ‘नगरपालिकाप्रति उनीहरुको इकाई जस्तो व्यवहार भएको छ ।’ साझेदारीको सम्झौतामा काम गरेको उनले बताए ।

तीन वर्षअघि टेउवामा विश्वका ११ देशका कलाकारले २१ दिनसम्म बसेर अन्तराष्ट्रिय स्तरको मूर्तिकला बनाएका छन् । पर्यटन प्रवद्र्धनको लागि यो स्थानसम्म पुग्ने पक्की सडक बनाउने, तारबार लगाउने र रिटेनिङ वाल बनाउने कार्यक्रम भैरहेपनि संघीय बजेट नआएको हो । नगरपालिकाले लगानी गर्नुपर्ने ४० प्रतिशत भने भइसकेको छ ।

नगरपालिकाले प्रशासकीय भवन बनाइरहेको छ । त्यसका लागि पनि प्रदेश सरकारको साझेदारी छ । तर, बजेट नआउने अवस्था भयो भने आयोजना पूरा गर्न कठीन हुने प्रशासकीय अधिकृत तुलबहादुर बिकले बताए । ‘संघिय र प्रदेशको बजेट समयमा नआउने प्रवृत्तिले काम गर्न कठीन भयो’, बिकले भने, ‘यो वर्षको बजेटमा ऋण तिर्ने काम गर्नुपर्दा बिकास बजेटमा कटौती भएको छ ।’ बजेटको आकारसमेत घटेको उनले बताए ।

ताराखोला गाउँपालिकाले त साझेदारी योजनामा धेरै समस्या भोगेको छ गत बर्ष आफ्नै प्रशासकीय भवन बनाएको ताराखोला ऋणमा छ । सांस्कृतिक संग्राहलय, औद्योगिक ग्राम लगायतका पूर्वाधार बनाएर सकेपनि साझेदारी संस्थाले बजेट नदिंदा सबै आयोजना ऋणमा परेका हुन् । प्रदेश र संघिय सरकारको साझेदारीमा बनेका ती संरचना ठडिए पनि प्रदेश र संघबाट बजेट नआउँदा भुक्तानीमा समस्या भएको हो ।

साझेदारी गरेको संघिय र प्रदेश सरकारबाट बजेट नपाएपछि भुक्तानीमा समस्या भएको गाउँपालिका अध्यक्ष धनबहादुर बिकले बताए । ‘हामीले आफ्नो भागमा परेको भुक्तानी दिइसकेका छौं, भवन पनि हस्तान्तरण भयो, तर प्रदेश सरकारबाट आउनुपर्ने १ करोड रुपैयाँ आएन’ बिकले भने, ‘प्रदेशको दायित्व हामीले बहन गर्दा विकास बजेटमा असर परेको छ ।’ यहाँ निर्मित सांस्कृतिक संग्राहलयमा पनि संघीय सरकारको पर्यटन मन्त्रालयले दिनुपर्ने ८० लाख दिएको छैन ।

ताराखोलाकै निर्माणाधीन औद्योगिक ग्राममा पनि संघीय बजेट नआएपछि कामले गति लिन सकेको छैन । गत वर्ष जग्गा खनेर कम्पाउण्डसमेत लगाइएको छ । तर उक्त जग्गाभित्र बनाउने पूर्वाधार बजेट अभावले रोकिएको हो ।

साझेदारीमा काम गरेका अन्य पालिकाले पनि बजेटको सास्ती खेपेका छन् । ‘पटक–पटक मन्त्रालयमा जाने, पहल गर्ने र दबाव दिने नगरेसम्म बजेट ल्याउनै मुस्किल थियो’, गाउँपालिकाका पूर्वअध्यक्ष प्रकाश घर्तीले भने, ‘स्वायत्त पालिका भने पनि हाकिमी पारा देखाएर मन्त्रालयले माग्ने बनाएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->