बागलुङ/ कोरोना महामारीपछि बागलुङमा लैंगिक हिंसाका घटनामा बृद्धि भएको छ । कोरोनाका कारण गरिएको बन्दाबन्दीका समयमा घटेका लैंगिक हिंसाका घटनाको तथ्यांक अवस्था सामान्य भएपछि बढेको पाईएको हो ।
धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्रले हिंसाका घटना बढेको जनाएको छ । लैंगिक हिंसामा पर्नेहरुमा महिलाको संख्या धेरै छ । वितेका दश बर्षमा ७ सय ९७ जना महिला हिंसामा परेको तथ्यांक छ । त्यो मध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटना छन् । यो अवधिमा १ सय ५ जना पुरुषले हिंसा व्यहोरे ।
चालु आर्थिक बर्षमा मात्रै केन्द्रमा ८१ जना महिला र ६ जना पुरुष सहायताका लागि आए । अघिल्लो बर्षको सोही अबधिमा ७८ जना महिला र ९ जना पुरुष उपचार तथा सहायताका लागि केन्द्रमा आएका थिए ।
प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत धौलागिरि अस्पतालमा सञ्चालनमा रहेको कार्यक्रमले हिंसामा परेका महिला र पुरुष दुवैलाई उपचार, सहायता र सहयोग तथा कानुनी उपचारमा सहयोग गर्छ । हिंसाबाट पीडितहरुका लागि स्वास्थ्योपचारदेखि न्यायिक उपचारसम्म केन्द्रले सुविधा उपलव्ध गराउने गरेको केन्द्र प्रमुख देवी भट्टराईले जानकारी दिइन् ।
‘हामी सबै सेवा दिन्छौं, मनोपरामर्श, उपचारदेखि न्यायिक उपचारसम्म तर हिंसा पीडितहरु अझैपनि लुकेर बस्नुभएको छ,’ भट्टराईने भनिन्, ‘पहिलेको तुलनामा अहिले केही संख्या बढेको छ, तर लकडाउनमा कम आउनुभएको थियो ।’
बागलुङमा यो सेवा सुरु भएको पहिलो वर्ष २०६८ सालमा १७ जना हिंसा पीडित संकट व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीमध्ये ३ जना पुरुष थिए । चालु आर्थिक बर्षमा सेवा लिनेहरुमा बागलुङ नगरपालिकाका ३३ जना, जैमिनी नगरपालिकाका १० जना गलकोट नगरपालिकाका ४ जना, ढोरपाटन नगरपालिकाका ३ जना काठेखोला गाउँपालिकाका ११ जना, तमानखोला गाउँपालिकाका १ जना, बरेङ गाउँपालिकाका ३ जना र छिमेकी जिल्ला म्याग्दीका ९ जना, रोल्पा र रुकुमका १÷१ जना तथा पर्वतका ५ जना रहेको तथ्यांक छ ।
केन्द्रमा स्वास्थ्य संस्था, आमा समुह, प्रहरी, नातेदार र सिधा सम्पर्क गरेर पीडितहरु पुग्ने गरेको केन्द्र प्रमुख भट्टराईले बताइन । चालु आर्थिक बर्षमा केन्द्रमा आएकामध्ये अल्पकालिन महिला सेवा केन्द्रमा ३ जना, उपल्लो अस्पतालमा १५ जना, न्यायीक निरुपणका लागि अदालत पेश भएका ३४ जना र घर फर्किएका ५४ जना रहेको तथ्यांक छ । उहाँका अनुसार घरेलु सिंसामा परेकाहरु उपचार पछि पनि दोहोराएर केन्द्रमा सहायताका लागि आउने गरेका छन् ।





