बागलुङ/ रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुले पछिल्लो समय सीपमुलक तालिम लिन थालेका छन् । सीप सिकेर विदेश जाँदा सिकेकै काम पाईने, पारिश्रमिक राम्रो पाईने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरु सीपमुलक तालिममा सहभागि हुन थालेका हुन् ।
स्वीजरल्याण्ड सरकार र नेपाल सरकारको सझोदारीमा बागलुङमा सञ्चालित सुरक्षित आप्रबासन परियोजनाले राहदानी बनाउने बेलानै युवाहरुलाई सीपमुलक तालिमका लागि प्रेरित गर्ने गरेको छ । परियोजना सुरुभएपछि चालु आर्थिक बर्षमा खाडी मुलुक, मलेसिया लगायतका देशहरुमा जाने १ सय ३१ जनाले सीप मुलक तालिम लिएका छन् ।
‘यो सकरात्मक तथ्यांक हो, युवाहरुलाई सीप सिकेर विदेश जाँदा धेरै कुरामा सहज हुन्छ’ वैदेशिक रोजगार बोर्ड सामी परियोजनाका कार्यक्रम अधिकृत शिव रेग्मीले भने ‘सुरुवातमा भन्दा यो बर्ष सीप सिक्न चाहने युवाको संख्या उल्लेख्य बृद्धि भएको छ ।’ कार्यक्रमले मेसन, कार्पेन्टर, हाउस किपिङ, कुक, तथा अन्य सीपमुलक तालिमहरु निशुल्क उपलव्ध गराउने गरेको छ ।
‘सीप सिकेपछि मजदुर दक्ष हुन्छ, सोही अनुसारको पारिश्रमीक पाउँछ, अदक्षले दश बर्षमा कमाउने पैसा दक्ष कामदारले पाँच बर्षमा कमाउन सक्छ’ उनले भने ‘अझै पछि एजेन्टहरुको दबावमा सिप नसिकी विदेशिने धेरै छन्, यो गलत हो ।’ सीप सिकेर जानेमा तीन जना मात्रै महिला छन् ।
सामी परियोजना बागलुङका संयोजक मिन प्रसाद पौडेलका अनुसार परियोजनाले स्थापना गरेको आप्रवासी स्रोत केन्द्रबाट व्यक्तिगत परामर्श ४ हजार ५ सय ६५ जनाले लिएका छन् । जसमा महिलाको संख्या १हजार ७ सय २६ जना रहेको छ । परियोजनाले समुदायमा आधारित कार्यक्रमहरु सञ्चालन हुने गरेका छन् ।
आप्रवासी स्रोत केन्द्रमा दर्ता तथा सामाधान भएका घटनाहरुको संख्या ९१ रहेका छन् । विदेश जान गरेको लगानी ठगिएका, विदेशमा ठगिएका, अफ्ठेरोमा परेका, तलबभत्ता नपाएका लगायतका गुनासा तथा समस्या केन्द्रमा आउने गरेका छन् ।
वैदेशिक रोजगारीमा भएका घटनामा भएको क्षतिमा राहतस्वरुप केन्द्रले ३ करोड ९ लाख ४५ हजार ६८ आर्थिक सहायता दिलाउन सहजीकरण गरिएको जनाएको छ । चालू आवमा वैदेशिक रोजगारीका क्रममा समस्या (ठगी, जालसाजी तथा पासपोर्ट होल्ड)मा परेका कामदार तथा उनीहरुका परिवारलाई कानुनी सहायताका लागि प्राप्त ४८ उजुरी, गुनासा वा समस्याहरुमध्ये ५ का उजुरी पुर्ण रुपमा समाधान भएको पौडेलले बताए । ती घटनाका पीडितहरुले १० लाख क्षतिपूर्ती पाएका छन् ।
परियोजनाले चालु आर्थिक बर्षमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ जनाको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ । विदेशमा मृत्यु भएकामध्ये अधिकांशको ह्दयघातका कारण मृत्यु हुने गरेको तथ्यांक आप्रबासी स्रोत केन्द्रसँग छ ।





